
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ८ गते हुँदैछ । अन्य स्थानीय तहमा नेतृत्व चयन सहमतिमै हुने सम्भावना देखिए पनि नीलकण्ठ, त्रिपुरासुन्दरी र गंगाजमुनामा भने सभापति चयनका लागि मतदान हुन सक्ने अवस्था देखिएको छ ।
नीलकण्ठ नगरपालिकामा नगर सभापतिका लागि धर्मराज भण्डारी ‘राजकुमार’ र ईश्वर अर्यालले दाबी गरेका छन् । भण्डारी नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष हुन् । उनी यसअघि नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि थिए । वडा अध्यक्ष बन्नुअघि जिल्ला सभापति रामनाथ अधिकारीनिकट मानिएका भण्डारी पछिल्लो समय नगरप्रमुख भीमप्रसाद ढुंगानासँग पनि निकट रहेर राजनीतिक गतिविधिमा देखिँदै आएका छन् ।
अर्याल भने नेपाली कांग्रेस नीलकण्ठ नगर कार्यसमितिका निर्वाचित सचिव हुन् । पार्टी नेतृत्वमा युवाको सहभागिता बढाउनुपर्ने धारणा राख्दै उनले नगर सभापतिमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिकामा ईश्वर धरेल र कविन्द्र अधिकारीले पालिका सभापतिका लागि दाबी गरेका छन् । धरेल वडा अध्यक्षका प्रत्यासी हुन् भने अधिकारी नेपाल विद्यार्थी संघसँग आबद्ध युवा नेता हुन् । अधिकारीले पनि पार्टीको नेतृत्वमा युवालाई अघि बढाउनुपर्ने भन्दै सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
यस्तै, गंगाजमुना गाउँपालिकामा युवा समूहबाट राजकुमार बस्नेतले सभापतिमा दाबी गरेका छन् । अर्कोतर्फ भरत ढकालले आफू पार्टीमा लामो समयदेखि सक्रिय रहेको र यसपटक नेतृत्व गर्ने दाबी गरेका छन् ।
यी तीन स्थानीय तहमा सभापतिका लागि एकभन्दा बढी आकांक्षी देखिएपछि सहमतिबाट नेतृत्व चयन नभए मतदानमार्फत नेतृत्व टुंगो लाग्न सक्ने कांग्रेसका स्थानीय नेताहरूको आकलन छ । यद्यपि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने नेताहरू बताउँछन् ।
नेपाली कांग्रेस धादिङले बाढी प्रभावित जिल्लाका लागि संशोधित कार्यतालिकाअनुसार असोज ५ गते १०४ वटै वडामा वडा अधिवेशनको प्रक्रिया अघि बढाएको थियो । जिल्लामा गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ८ गते र प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका छ ।
पालिका अधिवेशनबाट स्थानीय तहका सभापति, पदाधिकारी तथा कार्यसमिति चयन हुनेछन् । सहमति हुन नसकेका स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने कांग्रेसको अधिवेशन प्रक्रिया रहेको छ ।
प्राप्त सूचनाका आधारमा तयार गरिएको यो समाचारमा उल्लेखितबाहेक सभापतिका अन्य आकांक्षीहरू पनि हुन सक्नेछन् । थप जानकारी प्राप्त भए समाचार अद्यावधिक गरिनेछ।-सम्पादक
