धादिङका विनोद थापाद्वारा बाढीपीडितलाई ७ लाख ५० हजार सहयोग

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३, डाँडागाउँ निमारेटोल निवासी विनोद थापाले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरोपीडितका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

विगत १४ वर्षदेखि अमेरिकामा रहँदै आएका थापाले विपद्को समयमा आफ्नो जन्मभूमि र प्रभावित नागरिकप्रति मानवीय दायित्व सम्झँदै उक्त सहयोग गरेको बताएका छन् ।

थापाले ७ लाख १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन् भने थप ५० हजार रुपैयाँ बाढीपहिरोबाट प्रभावित परिवारलाई खाना खुवाउन प्रत्यक्ष सहयोग गरेका हुन् ।

विदेशमा रहेर पनि आफ्नै जिल्लासहित छिमेकी जिल्लाका विपद्पीडित नागरिकको पीडामा साथ दिन थापाले गरेको सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।

बाढीपहिरोले घरबार, सडक, पुल तथा जीविकोपार्जनका आधारहरू प्रभावित भइरहेका बेला तत्काल राहतसँगै पीडित परिवारलाई खाना, आवास र अन्य आवश्यक सहयोगको खाँचो छ । यस्तो अवस्थामा देश–विदेशमा रहेका नेपालीहरूले आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने सन्देश थापाको सहयोगले दिएको छ ।

“आफू जहाँ भए पनि विपद्को समयमा आफ्नो गाउँठाउँ र पीडित नागरिकलाई सम्झनुपर्छ” भन्ने भावनासहित गरिएको थापाको सहयोगले राहत अभियानमा थप हौसला मिल्ने अपेक्षा गरिएको छ।

विनोद थापाको यो सहयोग रकम राहत र उद्धारका लागि मात्र नभई विपद्को समयमा एकअर्काप्रति सहयोग र मानवीय जिम्मेवारी निर्वाह गर्न प्रेरणा दिने उदाहरणसमेत बनेको छ ।