धादिङका कासी दनै नेतृत्वको नेपाली व्यवसायी संघ बेल्जियमद्वारा बाढीपीडितलाई ८ लाख सहयोग

Avatar photo
Dhadingpost
भदौ १७, २०८३

धादिङ । धादिङका कासी दनैको नेतृत्वमा रहेको नेपाली व्यवसायी संघ बेल्जियमले बाढीपहिरोबाट प्रभावित तथा पीडितका लागि ८ लाख रुपैयाँ सहयोग गरेको छ ।

बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था नेपाली व्यवसायी संघ बेल्जियमले नेपालमा पछिल्लो समय आएको बाढीपहिरोका कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको हो ।

धादिङका कासी दनैको नेतृत्वमा रहेको संघले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएको भन्दै राहत अभियानमा हातेमालो गरेको जनाएको छ ।

बाढीपहिरोका कारण धादिङसहित रसुवा, नुवाकोट जिल्लामा जनधनको क्षति हुनुका साथै सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको अवस्थामा विदेशमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले राहत तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।

नेपाली व्यवसायी संघ बेल्जियमले उपलब्ध गराएको ८ लाख रुपैयाँ सहयोग बाढीपीडितको राहत तथा आवश्यक सहयोगमा प्रयोग गरिने जनाइएको छ ।

नेपाली व्यवसायी संघ बेल्जियमले यसअघि पनि नेपाल तथा नेपाली समुदायसँग सम्बन्धित सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । बेल्जियममा व्यवसाय गर्दै आएका नेपालीहरूलाई संगठित गर्दै सामाजिक तथा मानवीय क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएको संघले विपद्को समयमा मातृभूमिका नागरिकलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिएको हो ।

बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुटिरहेका बेला बेल्जियमस्थित नेपाली व्यवसायी संघको यो सहयोगले पीडित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।