
धादिङ । रुबी भ्याली गाउँपालिका–३ घर भई हाल रोजगारीका क्रममा इजरायलमा रहेकी सुनीमाया तामाङले बाढीपहिरो प्रभावितका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेकी छन् ।
आमाको ८४औँ वर्षको पूजा तथा भदौ पूर्णिमाको अवसरमा भदौ १२ गते रुबी भ्यालीस्थित सिङ्ला मानेमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन परिवारसहित नेपाल आएकी सुनीमायाले बाढीपहिरो प्रभावितका लागि उक्त रकम सहयोग गरेकी हुन् ।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ हजार रुपैयाँ पठाएर विपत्तिमा परेका परिवारलाई सहयोग गरेकी हुन् ।
विदेशमा रोजगारीमा रहे पनि आफ्नो जन्मभूमि धादिङमा आएको प्राकृतिक विपत्तिमा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ उनले राहत रकम उपलब्ध गराएको बताइएको छ ।
भदौ १० गते रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण धादिङसहित आसपासका जिल्लामा जनधनको क्षति भएको छ । बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा प्रवासी नेपालीबाट सहयोग जुटिरहेको छ ।
सुनीमायाको सहयोगले विपत्तिको समयमा व्यक्तिगत पहलबाट समेत प्रभावित परिवारलाई राहत पुर्याउन सकिने सन्देश दिएको छ ।
