धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेको आरोपमा २९ जना पक्राउ

Avatar photo
Dhadingpost
भदौ १३, २०८३

धादिङ । बाढीले बगाएर ल्याएको बैंकको भल्ट (सेफ) फोडेर रकम निकालेको आरोपमा धादिङको गल्छीबाट २९ जना पक्राउ परेका छन् ।

बाढीमा बगेर आएको बैंकको भल्ट गल्छी क्षेत्रमा फेला परेपछि स्थानीयले भल्ट फोडेर रकम बाँडेको घटना प्रतिनिधिसभा सदस्य आशिका तामाङले सार्वजनिक गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

घटनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सेफ फोड्ने कार्यमा संलग्न भएको आरोपमा २९ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको बताइएको छ ।

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडी रकम निकालिएको विषय सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा बरामद रकमको स्रोत र अवस्थाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाबारे अनुसन्धान पूरा भएपछि भल्टमा रहेको रकम, कसरी गल्छीसम्म आइपुग्यो र रकम कसरी बाँडिएको थियो भन्ने विषय थप स्पष्ट हुने बताइएको छ ।