
धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा सोमबार गलौंदी खेल मैदान, गजुरीमा भएको छनोट कार्यक्रममा १२० भन्दा बढी यू–१५ उमेर समूहका खेलाडी सहभागी भएका थिए ।
धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाका अनुसार जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू छनोट भएका छन् । छनोटमा परेका खेलाडीहरूले अब प्रदेशस्तरीय छनोटमा सहभागी हुन पाउनेछन् ।
फिफाको ‘Football Unites the World – Give Every Talent a Chance’ भन्ने नाराअनुसार नेपाली युवा फुटबल खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले छनोट प्रक्रिया अघि बढाइएको हो ।
यसअघि संघले २०८३ भदौ ८ गते गलौंदी खेल मैदानमा जिल्लास्तरीय छनोट हुने जानकारी दिएको थियो । छनोटका लागि सन् २०११ जनवरी १ देखि सन् २०१२ डिसेम्बर ३१ सम्म जन्मिएका खेलाडीलाई योग्य मानिएको थियो ।
जिल्लास्तरीय छनोटबाट उत्कृष्ट खेलाडीहरू प्रदेश छनोटका लागि अघि बढ्ने र प्रदेश छनोट हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया अगाडि बढ्नेछ ।
