
धादिङ–रसुवा सीमामा रहेको गणेश हिमालको काखमा जस्ता, सीसा र चाँदीको ठूलो सम्भावना बोकेको खानी दशकौँदेखि बन्द छ । खानी सञ्चालनका लागि करोडौँ रुपैयाँ खर्च भयो, सयौँ मजदुरले काम गरे, सुरुङ खनिए, भवन बने र सडकसमेत पुग्यो । तर औद्योगिक सपना पूरा हुन सकेन । अहिले पुराना संरचना जीर्ण बन्दै गएका छन् । पुनः सञ्चालनका लागि कानुनी बाटो खुले पनि खानी कहिले चल्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।
धादिङ । गणेश हिमालको काखमा पुग्दा अहिले हरियालीले ढाकिएका चट्टानी पहाड, कुहिरो, खोल्सामा बगिरहेको पानी र सुनसान वातावरण देखिन्छ । बाहिरबाट हेर्दा यो ठाउँ प्राकृतिक सौन्दर्यले भरिएको हिमाली भूभागजस्तो लाग्छ। तर यही पहाडको गर्भभित्र नेपालको औद्योगिक विकाससँग जोडिएको एउटा अधुरो सपना लुकेको छ ।
कुनै समय यहाँ मजदुरको चहलपहल थियो । खानीका सुरुङभित्र काम हुन्थ्यो। भवनमा कर्मचारीको उपस्थिति हुन्थ्यो । उपकरण चल्थे । हिमालको कठिन भूगोल छिचोल्दै सामग्री ओसारिन्थ्यो ।
आज तीमध्ये अधिकांश कुरा इतिहास बनेका छन् ।
खानीका पुराना भवन जीर्ण अवस्थामा छन् । वर्षौँदेखि प्रयोगविहीन उपकरणमा खिया लागेको छ। चट्टान छेडेर बनाइएका सुरुङ र पानी ल्याउन प्रयोग गरिएका पाइपका अवशेषले विगतको औद्योगिक गतिविधिको सम्झना गराइरहेका छन् ।
यो हो गणेश हिमालको जस्ता–सीसा खानी ।
धादिङको रुबीभ्याली गाउँपालिका र रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको सीमाक्षेत्रमा रहेको यो खानीमा जस्ता र सीसासँगै चाँदीको समेत सम्भावना देखिएको छ ।
प्रश्न भने अहिले पनि उही छ—
यति ठूलो सम्भावना भएको खानी आखिर किन बन्द भयो ?
र अर्को प्रश्न अझ महत्वपूर्ण छ-
दुई दशकदेखि सुनसान गणेश हिमाल खानी फेरि कहिले चल्छ ?
हिमालको गर्भमा लुकेको खनिजको खोजी
गणेश हिमाल क्षेत्रमा खनिजको सम्भावना पहिचान भएको धेरै वर्ष भइसकेको छ ।
सुरुआती समयमा विदेशी प्राविधिक तथा इन्जिनियरहरूले समेत यस क्षेत्रका चट्टान, पानी र भूगर्भको परीक्षण गर्दै खनिजको सम्भावना खोजेका थिए । भारतीय बिरला कम्पनीका इन्जिनियरहरूले समेत गणेश हिमाल क्षेत्रको अध्ययन गरेको उल्लेख पाइन्छ ।
त्यसपछि सरकारी तहबाट पनि अध्ययन अघि बढ्यो ।
खानी सञ्चालनको सम्भावना देखिएपछि नेपाल सरकारले वि.सं. २०३३ सालमा नेपाल मेटल कम्पनी स्थापना गर्यो । गणेश हिमाल क्षेत्रमा रहेका खनिज उत्खनन गर्ने र त्यसलाई प्रशोधन गरी औद्योगिक उत्पादनमा प्रयोग गर्ने उद्देश्य कम्पनी स्थापनाको मूल आधार थियो ।
त्यतिबेला नेपालका लागि यो सामान्य परियोजना थिएन ।
दुर्गम हिमाली भूगोलमा खानी सञ्चालन गर्नु आफैँमा ठूलो चुनौती थियो। तर राज्यले त्यही चुनौती स्वीकार गर्दै गणेश हिमालको काखमा औद्योगिक भविष्य खोज्ने प्रयास गर्यो ।
जस्ता, सीसा र चाँदीको सम्भावना
गणेश हिमाल क्षेत्रमा गरिएको अध्ययनबाट जस्ता, सीसा र चाँदीको सम्भावना देखिएको छ ।
खानी क्षेत्रमा जस्ता र सीसाका साथै चाँदीको समेत उपस्थिति रहेको अध्ययनहरूले देखाएका छन् । प्रारम्भिक अध्ययनका क्रममा गणेश हिमाल क्षेत्रमा विभिन्न स्थानमा खनिजको सम्भावना पहिचान गरिएको थियो ।
वि.सं. २०७६ सालमा गरिएको मूल्याङ्कनलाई आधार मान्दा यहाँ रहेको खनिजको सम्भावित मूल्य सात खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी आकलन गरिएको विवरणसमेत सार्वजनिक भएको छ ।
यद्यपि यस्तो मूल्याङ्कनलाई प्रत्यक्ष आम्दानीका रूपमा बुझ्न मिल्दैन । खनिजको वास्तविक व्यावसायिक मूल्य निर्धारणका लागि आधुनिक प्रविधिबाट पुनः विस्तृत अन्वेषण, खनिजको मात्रा र गुणस्तर परीक्षण, उत्खनन लागत, प्रशोधन खर्च, वातावरणीय प्रभाव तथा अन्तर्राष्ट्रिय बजार मूल्यसमेत अध्ययन गर्नुपर्छ ।
तर सम्भावनाको आकारले भने एउटा कुरा स्पष्ट पार्छ-
गणेश हिमालको खानी केवल स्थानीय महत्वको परियोजना होइन, नेपालको औद्योगिक अर्थतन्त्रमा योगदान गर्न सक्ने सम्भावित ठूलो खनिज सम्पदा हो ।
सडकदेखि सुरुङसम्म : राज्यले गरेको लगानी
गणेश हिमालको खानी सञ्चालन गर्न सबैभन्दा पहिले आवश्यक थियो-पहुँच ।
काठमाडौँबाट नुवाकोट हुँदै त्रिशूली–धुन्चे क्षेत्र पार गरेर हिमाली भूभागमा पुग्नुपर्ने अवस्था थियो। त्यहाँबाट खानीसम्म सडक तथा अन्य पूर्वाधार निर्माण गर्नु आफैँमा ठूलो चुनौती थियो ।
खानी सञ्चालनको उद्देश्यलाई ध्यानमा राख्दै सडक निर्माण तथा अन्य पूर्वाधार विकासका काम अघि बढाइए ।
खानी क्षेत्रमा भवन निर्माण गरियो ।
सुरुङ खनियो ।
पानी व्यवस्थापनका संरचना बनाइए ।
उपकरण पुर्याइए ।
खानी सञ्चालनका लागि आवश्यक आधारभूत संरचना तयार पार्ने क्रममा राज्यको ठूलो रकम खर्च भयो ।
उपलब्ध विवरणअनुसार खानी क्षेत्रमा पूर्वाधार निर्माण तथा अध्ययनका लागि करिब १८ करोड रुपैयाँ लगानी गरिएको थियो ।
त्यो समयको हिसाबले यो निकै ठूलो लगानी थियो ।
तर विडम्बना के भयो भने-
लगानी भयो, संरचना बन्यो, खनिजको सम्भावना देखियो; तर उद्योग नियमित रूपमा चल्न सकेन ।
हिमालमा उद्योग चलाउनु आफैँमा चुनौती
गणेश हिमालको खानी समुद्री सतहबाट करिब ३ हजार ३०० मिटरको उचाइ आसपासको कठिन हिमाली क्षेत्रमा रहेको छ ।
यहाँ उद्योग सञ्चालन गर्नु तराई वा सहरी क्षेत्रमा उद्योग सञ्चालन गरेजस्तो सहज थिएन ।
वर्षको केही महिना हिमपात हुन्छ ।
चिसो अत्यधिक हुन्छ ।
भौगोलिक अवस्था कठिन छ ।
सामग्री ढुवानी महँगो पर्छ ।
कामदारको बसोबास र स्वास्थ्य सुरक्षाको चुनौती हुन्छ ।
विद्युत् तथा अन्य पूर्वाधार पुर्याउन कठिन हुन्छ ।
धादिङ चिनारीमा प्रकाशित विवरणअनुसार खानी क्षेत्रमा करिब चार महिना हिमपात हुने, अत्यन्त चिसो रहने र सूर्यको किरणसमेत सीमित समय मात्र पुग्ने अवस्था थियो ।
यस्तो ठाउँमा खानी सञ्चालन गर्नु भनेको केवल सुरुङ खन्नु र खनिज निकाल्नु मात्र थिएन ।
हिमालसँगै हरेक दिन संघर्ष गर्नु पनि थियो ।
पाँच सयभन्दा बढी मजदुरको चहलपहल
गणेश हिमाल खानी सञ्चालनको चरणमा यहाँ पाँच सयभन्दा बढी कर्मचारी तथा मजदुर कार्यरत रहेको विवरण छ ।
हिमालको कठोर मौसममा उनीहरूले खानीभित्र काम गर्थे ।
सुरुङ खन्ने, खनिज निकाल्ने, उपकरण सञ्चालन गर्ने, ढुवानी गर्ने तथा खानीका विभिन्न संरचना व्यवस्थापन गर्ने काम हुन्थ्यो ।
खानी आसपास सानो बस्ती नै विकास भएको थियो ।
त्यो समय गणेश हिमाल क्षेत्र केवल खानीको क्षेत्र थिएन । त्यहाँ रोजगारी, व्यापार, आवास र यातायातसमेत जोडिएको आर्थिक गतिविधि थियो ।
तर खानी बन्द भएपछि त्यो चहलपहल हराउँदै गयो ।
सरकारले खानी बन्द गरेपछि कर्मचारी तथा मजदुरलाई तलब, उपदान र अन्य सुविधा दिएर अवकाशसमेत दिएको थियो ।
आज तीमध्ये अधिकांश मानिसको जीवन गणेश हिमालको खानीसँग जोडिएको पुरानो सम्झनामा सीमित भएको छ ।
२०६२ सालपछि खानीमा लाग्यो ताला
गणेश हिमाल खानीको इतिहासमा वि.सं. २०६२ साल एउटा निर्णायक समय बन्यो ।
देश सशस्त्र द्वन्द्वको चपेटामा थियो। दुर्गम हिमाली क्षेत्रमा खानी सञ्चालन गर्न सुरक्षा चुनौती थपिएको थियो । त्यसमाथि कम्पनीको आर्थिक अवस्था कमजोर हुँदै गएको थियो ।
लगानीको अभाव, व्यवस्थापन समस्या, कठिन भूगोल र नीतिगत अन्योलले कम्पनीलाई क्रमशः कमजोर बनाउँदै लग्यो ।
अन्ततः आर्थिक वर्ष २०६२/०६३ देखि खानी पूर्ण रूपमा बन्द भयो ।
त्यसपछि खानीमा नियमित उत्खनन रोकियो ।
मेसिनहरू बन्द भए
मजदुरको चहलपहल हरायो ।
कार्यालय सुनसान भयो ।
तर खानीभित्र रहेको खनिज भने त्यहीँ रहिरह्यो ।
जस्ता त्यहीँ थियो ।
सीसा त्यहीँ थियो ।
चाँदीको सम्भावना त्यहीँ थियो ।
बन्द भएको थियो त केवल त्यसलाई आर्थिक सम्पत्तिमा बदल्ने प्रक्रिया ।
खानी बन्द भयो, तर विवाद रोकिएन
खानी सञ्चालन रोकिएपछि यसको भविष्यबारे पटक–पटक बहस भयो ।
नेपाल मेटल कम्पनीलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भए । कम्पनीमा लगानी थप्ने, पुँजी वृद्धि गर्ने र निजी क्षेत्रसँग सहकार्य गरेर खानी सञ्चालन गर्ने योजना अघि सारिए ।
कम्पनीमा निजी क्षेत्रको सहभागिता बढाउने प्रयाससमेत भयो ।
तर कम्पनीको पुँजी वृद्धि र शेयर संरचनासम्बन्धी निर्णय विवादमा पर्यो
विवाद अदालतसम्म पुग्यो ।
यसले पुनः सञ्चालनको प्रक्रिया थप लम्बियो ।
एकातिर हिमालभित्र खनिजको ठूलो सम्भावना थियो ।
अर्कोतिर कम्पनीको कानुनी र व्यवस्थापकीय विवाद थियो ।
यसरी खानीभन्दा बाहिरका समस्याले खानीको भविष्यलाई झन् अन्योल बनाउँदै लग्यो ।
अदालत पुग्यो गणेश हिमालको खानी
नेपाल मेटल कम्पनीको पुँजी वृद्धि तथा पुनः सञ्चालनसँग सम्बन्धित विवाद लामो समय अदालतमा चल्यो ।
अन्ततः वि.सं. २०८१ वैशाख १० गते सर्वोच्च अदालतले कम्पनीको पुँजी वृद्धि गर्ने पक्षमा फैसला गरेपछि पुनः सञ्चालनका लागि कानुनी बाटो खुल्यो ।
यो फैसला गणेश हिमाल खानीका लागि महत्वपूर्ण मोड थियो ।
दुई दशकदेखि रोकिएको परियोजनालाई फेरि अघि बढाउने सम्भावना देखियो ।
तर कानुनी अवरोध हट्नु मात्रै पर्याप्त थिएन ।
अब आवश्यक थियो—
लगानी ।
आधुनिक अध्ययन ।
प्रविधि ।
व्यवस्थापन ।
व्यावसायिक योजना ।
र सबैभन्दा महत्वपूर्ण-
ठोस निर्णय ।
चिनियाँ कम्पनीले पनि देखाएको थियो चासो
गणेश हिमाल खानी पुनः सञ्चालनका लागि विदेशी लगानीकर्ताको चासोसमेत देखिएको थियो ।
वि.सं. २०७४ सालतिर चिनियाँ कम्पनीले खानी पुनः सञ्चालनका लागि चासो देखाउँदै प्रक्रिया अघि बढाएको थियो ।
कम्पनीले खानी सञ्चालनको सम्भावना अध्ययन तथा अन्य प्रक्रिया अघि बढाउने प्रयास गरेको थियो ।
तर नेपाल मेटल कम्पनीको शेयर, लगानी र व्यवस्थापनसम्बन्धी विवादका कारण प्रक्रिया अगाडि बढ्न सकेन ।
यसले फेरि एउटा प्रश्न जन्मायो-
नेपालमा खनिज सम्पदा भएर मात्रै पुग्छ कि त्यसलाई सञ्चालन गर्ने स्थिर नीति र व्यवस्थापन पनि चाहिन्छ
अर्बौंको सम्पदा बोकेको गणेश हिमाल खानीलाई फेरि खिया लागेका उपकरण र जीर्ण भवनको संग्रहालय बनाइराख्ने कि नयाँ प्रविधि र नयाँ सोचसहित सञ्चालनमा ल्याउने ?
दुई दशकदेखि सुनसान गणेश हिमालको खानीले अहिले यही प्रश्नको जवाफ खोजिरहेको छ ।
गणेश हिमालको गर्भमा सम्पदा अझै छ । अब त्यो सम्पदालाई नेपालको समृद्धिसँग जोड्ने जिम्मेवारी राज्यको हो । फाईल तस्वीर: केशव अधिकारी
