
धादिङ । धादिङबेसीमा रहेको ऐतिहासिक भैरवी मन्दिर गुठीको जग्गाको साँध–सिमाना छुट्याउने (सीमाङ्कन) काम अर्को हप्ताबाट सुरु हुने भएको छ ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिले गत असार २३ गते सूचना जारी गर्दै धादिङबेसीमा रहेको गुठी जग्गाको साँध–सिमाना छुट्याउने कार्य असार २४ गतेदेखि सुरु गर्ने जनाएको थियो ।
सोहीअनुसार समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठसहितको टोली सुनौलाबजारबाट जग्गाको सिमाना छुट्याउनको लागि धादिङबेसी आएको थियो । तर धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले आफू नयाँ भएको र भैरवी मन्दिर गुठी जग्गाको विषयमा अध्ययन गर्न बाँकी रहेको भन्दै एक–दुई दिन पर्खन आग्रह गरेपछि टोली फर्किएको थियो ।
त्यतिबेला धादिङपोष्टसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले आफूले भैरवी मन्दिर गुठीको जग्गाको साँध–सिमाना छुट्याउने कार्य नरोकिएको, बरु गुठी व्यवस्थापन समितिलाई एक–दुई दिन पर्खन आग्रह मात्र गरेको बताएकी थिइन् ।
सूचना जारी भएको करिब एक महिना पुग्न लाग्दा पनि सीमाङ्कनको काम अघि नबढेको विषयमा अध्यक्ष श्रेष्ठसँग प्रश्न गर्दा उनले नापी कार्यालयका प्रमुख विदामा रहेकाले काम रोकिएको बताए ।
“नापीको हाकिम विदामा हुनुहुन्छ । उहाँ आएपछि काम सुरु हुन्छ,” अध्यक्ष श्रेष्ठले भने ।
उनका अनुसार अब भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कनको काम अर्को हप्ताबाट सुरु गर्ने तयारी छ । सीमाङ्कनपछि गुठीको जग्गा खाली गराई मन्दिरको भोगचलनमा ल्याउने प्रक्रिया अघि बढाइने उनले बताए ।
सर्वोच्चको आदेशपछि गुठीको नाममा जग्गा कायम
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार धादिङबेसीको सिरान बजार र पुछार बजारमा रहेको साविक नीलकण्ठ–५ ‘घ’ का कित्ता नम्बर १४६ र १४७ तथा साविक नीलकण्ठ–५ ‘च’ का कित्ता नम्बर ३२ र ३३ भैरवी गुठीको जग्गा हुन् ।
समितिका अनुसार उक्त जग्गा विसं २०५३ सालमा नक्कली मोही कायम गरी विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यसपछि विसं २०५६ सालमा सर्वोच्च अदालतबाट खाँगी जग्गामा मोही कायम नहुने आदेश भएपछि त्यस्तो दर्ता बदर भएको हो ।
हाल उक्त जग्गा भैरवी गुठीको नाममा कायम भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त भइसकेको समितिले जनाएको छ ।
अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको आदेशबाट गुठीको जग्गा मन्दिरको सम्पत्ति भएको स्पष्ट भइसकेकाले अब जग्गाको सीमाङ्कन गरी आफ्नो सम्पत्ति संरक्षण गर्ने र त्यसपछि जग्गा खाली गराउनेतर्फ प्रक्रिया अघि बढाइने बताए ।
भैरवी मन्दिरको सम्पत्ति संरक्षण तथा संवर्द्धनका लागि लामो समयदेखि गुठी जग्गाको संरक्षण र व्यवस्थापनको विषय उठ्दै आएको छ । धादिङबेसीमा रहेको यो गुठी जग्गा करिब १९ रोपनी रहेको बताइन्छ ।
