
धादिङ । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचाररत नेत्रावती डबजोङ गाउँपालिका–१, थलाका धनबहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८१५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष ठाकुर गुरुङको संयोजन तथा थला गाउँ सेवा समाजको सहकार्यमा संकलन गरिएको उक्त रकम बिरामी तामाङ उपचाररत काठमाडौंस्थित कोठामै पुगेर हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष ठाकुर गुरुङ, वडा सदस्य सीता माया घले, थला गाउँ सेवा समाजका उपाध्यक्ष श्यामबहादुर गुरुङ र समाजसेवी बच्चु अधिकारी सहभागी थिए ।
नेत्रावती डबजोङ गाउँपालिका–१ थला निवासी काजीमान तामाङका छोरा धनबहादुर तामाङ विगत केही महिनादेखि दुवै मृगौलाले काम नगरेपछि उपचाररत छन् । हाल घाँटीबाट क्यानल बनाई नियमित डायलाइसिस गराउँदै आएका तामाङको स्वास्थ्य अवस्था जटिल बन्दै गएको परिवारले जनाएको छ ।
शरीरका विभिन्न भागमा अपरेसन गरी क्यानल बनाएर डायलाइसिस गर्नुपर्दा जोखिम बढ्ने भएकाले चिकित्सकले तत्काल मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्न सुझाव दिएका छन् । तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भइरहेको जनाइएको छ ।
धनबहादुरलाई आफन्तले मृगौला दान गर्न आवश्यक प्रक्रिया पूरा गरिसके पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन कठिन भइरहेको परिवारको भनाइ छ ।
स्थानीय सरकारबाट पनि सहयोग गरिने
धनबहादुरको उपचारका लागि स्थानीय स्तरबाट सहयोग जुटाउने अभियान सञ्चालन गरिएको हो । अभियानमा थला गाउँ सेवा समाजसँगै स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले सहयोग गरेका छन् ।
नेत्रावती डबजोङ गाउँपालिकाले पनि मृगौला पीडित धनबहादुर तामाङको उपचारका लागि गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने जनाएको छ ।
अभियन्ताहरूले धनबहादुरको जीवन बचाउन थप आर्थिक सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्न सक्ने व्यक्ति, संघसंस्था, राजनीतिक व्यक्तित्व, शिक्षक, कर्मचारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोगका लागि अपिल गरेका छन् ।
‘सक्नुहुन्छ सहयोग गर्नुहोस्, सक्नुहुन्न भने यो अपिल धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउन शेयर गरिदिनुहोस्’ भन्दै अभियानमा सहभागीहरूले आग्रह गरेका छन् ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले अभियानमा उपलब्ध गराइएको बैंक तथा क्यूआरमार्फत सहयोग गर्न सक्ने र सहयोग गरेको प्रमाण (स्क्रिनसट) अभियानका सम्बन्धित व्यक्तिलाई पठाउन अनुरोध गरिएको छ ।
