
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिव (पीए) सम्बन्धी व्यवस्था थप पारदर्शी, मितव्ययी र उत्तरदायी बनाउन सात बुँदे निर्देशिका जारी गरेको छ ।
निर्देशिकाअनुसार स्वकीय सचिवको नियुक्ति पारिवारिक वा व्यक्तिगत सम्बन्धका आधारमा नभई योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक वा सोसरह) पूरा गरेको व्यक्ति मात्र नियुक्तिका लागि योग्य हुने व्यवस्था गरिएको छ ।
रास्वपाले सम्बन्धित क्षेत्रमा दक्षता, प्रविधिमैत्री क्षमता, अनुसन्धान सीप तथा पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने जनाएको छ । सांसदहरूले योग्य, सक्षम र नैतिक आचरण भएका व्यक्तिमध्येबाट स्वकीय सचिव छनोट गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।
त्यस्तै, स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गरी दोहोरो आर्थिक सुविधा लिन नपाउने व्यवस्था गरिएको छ । सांसदको पदीय जिम्मेवारीमा प्रभाव पार्ने कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व (Conflict of Interest) नभएको उम्मेदवार मात्र नियुक्त गर्नुपर्ने रास्वपाको निर्देशनमा उल्लेख छ ।
निर्देशिकाले स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कटौती, असुली वा आर्थिक हिनामिना गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।
रास्वपाले नातेदारलाई स्वकीय सचिव नियुक्त गरेको, कागजी रूपमा मात्र सचिव राखेर सरकारी सुविधा लिएको वा आर्थिक अनियमितता गरेको पाइए पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कारबाही गरिने स्पष्ट पारेको छ ।
पार्टीले सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, उत्तरदायी र सुशासनको मापदण्डअनुसार व्यवस्थित गर्न यो निर्देशिका जारी गरिएको जनाएको छ ।
