कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक उत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय धादिङ

Avatar photo
Dhadingpost
साउन ७, २०८३

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा फेरि उत्कृष्ट नतिजा हासिल गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो मूल्याङ्कनअनुसार प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा सञ्चालित देशभरका १५ पहाडी जिल्ला प्रहरी कार्यालयमध्ये धादिङ लगातार तेस्रो पटक पहिलो स्थानमा परेको हो ।

मूल्याङ्कनमा अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, अवैध हातहतियार बरामद, राजस्व छलीका सामान नियन्त्रण तथा पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयनलगायतका सूचकमा धादिङ प्रहरीले उल्लेखनीय कार्यसम्पादन गरेको जनाइएको छ ।

यसका साथै राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको अनुशासन, सरोकारवाला निकायसँगको समन्वय र विपद् व्यवस्थापनमा समेत धादिङ प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको मूल्याङ्कनमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार कार्यसम्पादन मूल्याङ्कन प्रणालीले संगठनभित्र जिम्मेवारीबोध, व्यावसायिकता र स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाएको छ । यसले प्रहरी सेवाको गुणस्तर सुधार गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न सकारात्मक योगदान पुर्‍याएको उनको भनाइ छ ।

लगातार तेस्रो पटक उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा धादिङको छनोट हुनु संगठनको समग्र कार्यक्षमता, अनुशासन र सेवामुखी कार्यशैलीको परिणामका रूपमा हेरिएको छ ।