
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा बाढी प्रभावित नागरिकलाई लक्षित गरी धादिङको गल्छीमा सञ्चालित दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गल्छी गाउँपालिका–६, बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट २३५ जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, हाडजोर्नी तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुलीका अनुसार जनरल फिजिसियनतर्फ ८०, स्त्रीरोगतर्फ ५१, हाडजोर्नीतर्फ ८२ र मानसिक रोगतर्फ २२ जनाले सेवा लिएका हुन् ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन डा. दीपक सुन्दर श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. सरिता सटौल, मानसिक रोग विशेषज्ञ डा. प्रज्वल थापा र हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार नर्स प्रसुना कँडेललगायतले बैरेनी अस्पतालको सेवा विस्तार तथा प्रगतिका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले पठाएको सन्देशमा बैरेनी अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन समाजले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् । अस्पतालको नियमित सेवा पुनः सञ्चालनसँगै विशेषज्ञ स्वास्थ्य शिविरसमेत सञ्चालन हुँदा विपद्बाट प्रभावित स्थानीयवासीलाई स्वास्थ्य उपचारमा थप सहजता भएको आयोजकले जनाएको छ ।
