
धादिङ । धादिङ जिल्लाका १,३५६ जना स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (का.स.मू.) सम्पन्न भएको छ । यससँगै बागमती प्रदेशमा स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया सबैभन्दा पहिले सम्पन्न गर्ने जिल्ला बन्न धादिङ सफल भएको छ ।
शैक्षिक सत्र २०८२ का लागि सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकमध्ये १,३५६ जनाले कार्यसम्पादन मूल्याङ्कन फाराम भरेका थिए । सुपरिवेक्षक तथा पुनरावलोकन समितिबाट आवश्यक अंक प्रदान गरी सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले जनाएको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा सहभागी शिक्षकहरूमध्ये १३३ जना माध्यमिक तह, १५८ जना निम्न माध्यमिक तह र १,०६५ जना प्राथमिक तहका शिक्षक रहेका छन् । स्थानीय तहअनुसार रुवीभ्याली गाउँपालिकाबाट सबैभन्दा कम ३५ जना र नीलकण्ठ नगरपालिकाबाट सबैभन्दा बढी २३४ जना शिक्षकले का.स.मू. भरेका छन् ।
जिल्लास्तरको सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कागजात शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश, हेटौँडास्थित शिक्षक बढुवा सचिवालयमा पेस गरेको छ । निर्देशनालयमा का.स.मू. बुझाउने क्रममा धादिङ बागमती प्रदेशकै पहिलो जिल्ला बनेको हो ।
शिक्षकले कार्यसम्पादन मूल्याङ्कन फाराम भरेपछि सम्बन्धित विद्यालयमा दर्ता गरिन्छ । त्यसपछि सम्बन्धित पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखबाट सुपरिवेक्षण हुने र अन्तिम पुनरावलोकन शिक्षा विकास तथा समन्वय इकाइमार्फत गरिने व्यवस्था रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार धादिङमा भौगोलिक विकटता चुनौतीपूर्ण भए पनि रुवीभ्याली, खनियाबास, गङ्गाजमुना लगायत सबै स्थानीय तहको प्रभावकारी समन्वय र सहजीकरणका कारण तोकिएको समयभन्दा अगावै कार्यसम्पादन मूल्याङ्कन सम्पन्न गर्न सम्भव भएको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार स्थायी शिक्षकहरूको बढुवा प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कन अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था रहेको छ ।
