च्याउ खोज्न गएका १४ महिला अझै सम्पर्कविहीन, ३ जनाको सकुशल उद्धार

Avatar photo
Dhadingpost
साउन ४, २०८३

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरेका महिलामध्ये १४ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका अनुसार निकुञ्जभित्र प्रवेश गरेका १७ जनामध्ये तीन जना महिलालाई सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकामा बेल्डाडी गाउँपालिका–२ निवासी लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्री रहेका छन् । सह–सेनानी सुमन केसीको नेतृत्वमा खटिएको सैनिक टोलीले उनीहरूलाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब चार किलोमिटर टाढा फेला पारी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार तीनै जना आइतबार च्याउ खोज्ने क्रममा लुकीछिपी निकुञ्जभित्र प्रवेश गरेका थिए ।

यता भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका १४ जना महिलाको समूह भने अझै सम्पर्कविहीन रहेको छ । उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि निकुञ्जभित्र ठूलो सङ्ख्यामा सैनिक टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सम्पर्कविहीन महिलाको खोजी कार्यलाई तीव्र पारिएको जानकारी दिएका छन् । खोजी अभियानमा नेपाली सेना, नेपाल प्रहरी तथा निकुञ्जका सुरक्षाकर्मी परिचालित छन् ।

अधिकारीहरूले निकुञ्जभित्र अनुमति बिना प्रवेश नगर्न तथा वर्षायाममा जङ्गली क्षेत्रमा च्याउ वा अन्य वनजन्य वस्तु संकलन गर्न जाँदा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । तस्विर : एआइ