आज २३ जिल्लामा रेड अलर्ट: कोशी, बागमती र गण्डकीमा मुसलधारे वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम

Avatar photo
Dhadingpost
साउन ३, २०८३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका विभिन्न २३ जिल्लामा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरेको छ । पश्चिमतर्फ मौसम प्रणाली थप सक्रिय बन्दै गएकाले कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातभर निरन्तर वर्षा हुँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन भएको छ । वर्षा अझै जारी रहने सम्भावना भएकाले नदी, खोला तथा खोल्सामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

मुसलधारे तथा लगातारको वर्षाका कारण होचा भूभागमा डुबान, सडक जलमग्न, ग्रामीण सडक तथा राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने र यातायात सेवा प्रभावित हुन सक्ने जोखिम उच्च रहेको मौसमविद्हरूले बताएका छन् ।

विशेषगरी पहिरो जोखिमयुक्त क्षेत्र, नदी किनार तथा डुबान हुने स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा पौडी खेल्ने वा तर्ने प्रयास नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न महाशाखाले अनुरोध गरेको छ ।

मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुने जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन पनि सबै नागरिकलाई आग्रह गरिएको छ ।