कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोषको शव दुई महिनादेखि अस्पतालमै, स्वदेश ल्याउन आर्थिक संकट

Avatar photo
Dhadingpost
असार ३०, २०८३

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४२ वर्षीय सन्तोष राईको कम्बोडियामा मृत्यु भएको दुई महिना बितिसक्दा पनि आर्थिक अभाव र कानुनी जटिलताका कारण शव नेपाल ल्याउन नसकिएको परिवारले गुनासो गरेको छ ।

सन्तोष २०८२ भदौ १६ गते भिजिट भिसामा कम्बोडिया गएका थिए । परिवारका अनुसार उनलाई गत वैशाख ३० गते (मे १३) नेपाल फर्काउने तयारी गरिएको थियो । तर त्यसको दुई दिनअघि, मे ११ मा एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा मे १४ (वैशाख ३१) गते उनको मृत्यु भएको थियो ।

मृत्युपछि दुई महिना बितिसक्दा पनि उपचार खर्च तिर्न नसकिएकाले अस्पतालले शव नबुझाएको परिवारले जनाएको छ । उपचार खर्च, शव व्यवस्थापन र नेपाल ल्याउने प्रक्रिया पूरा गर्न ठूलो रकम आवश्यक परेपछि परिवार आर्थिक संकटमा परेको हो ।

धुनिवेशी नगरपालिका–९ का वडाध्यक्ष माधवप्रसाद सिलवालका अनुसार स्थानीयस्तरमा सञ्चालन गरिएको सहयोग अभियानबाट हालसम्म करिब ९ लाख रुपैयाँ संकलन भइसकेको छ । उक्त रकम सन्तोषकी पत्नी जुनु राईको बैंक खातामा जम्मा गरिएको भए पनि शव स्वदेश ल्याउन अस्पताललाई करिब १६ लाख रुपैयाँ बुझाउनुपर्ने भएकाले अझै आवश्यक रकम जुट्न सकेको छैन ।

वडाध्यक्ष सिलवालले आर्थिक समस्यासँगै कानुनी जटिलताले पनि शव ल्याउने प्रक्रिया कठिन बनेको बताए । उनका अनुसार सन्तोष श्रम स्वीकृति नलिई भिजिट भिसामा कम्बोडिया गएका कारण वैदेशिक रोजगार बीमा पनि सक्रिय थिएन । त्यसैले उपचार खर्च, शव व्यवस्थापन तथा स्वदेश फिर्तासम्बन्धी सरकारी सुविधा प्राप्त हुन नसकेको उनले बताए ।

सन्तोषकी पत्नी जुनु राईले सहयोगबाट संकलित रकमले उपचार खर्च, शव व्यवस्थापन तथा नेपाल ल्याउने सम्पूर्ण खर्च धान्न नसक्ने भएकाले थप सहयोगको प्रतीक्षामा रहेको बताइन् ।

उनले सरकार तथा सम्बन्धित निकायबाट सहयोगको अपेक्षामा गैरआवासीय नेपाली संघ (एनआरएनए), परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायमा पटक–पटक पहल गरे पनि कुनै ठोस सहयोग प्राप्त नभएको गुनासो गरिन् ।

“सरकारले शव ल्याउन सहयोग गर्छ भन्ने आशमा एनआरएनएदेखि परराष्ट्र मन्त्रालयसम्म पुगें । मन्त्री र सचिवलाई समेत भेटें, तर कतैबाट सहयोग मिलेन,” उनले भनिन् ।

अस्पतालमा शव राखिएको प्रत्येक दिन अतिरिक्त शुल्क दिनको सात हजार रुपैयाँ शुल्क लाग्ने भनिएको छ । खर्च बढ्दै गइरहेको छ । अब कसरी नेपाल ल्याउने भन्ने चिन्ता छ,” उनले भनिन् ।

२०६८ सालमा सन्तोषसँग विवाह गरेकी जुनु राई सामुदायिक विद्यालयमा बालविकास शिक्षिकाका रूपमा कार्यरत छन् । उनका १३ वर्षीय छोरा र ८ वर्षीया छोरी छन् ।

परिवारले सन्तोषको शव स्वदेश ल्याउन आर्थिक सहयोगका लागि सबै सहयोगी मन, गैरआवासीय नेपाली संघ (एनआरएनए), सरकारी निकाय तथा दाताहरूलाई सहयोग गरिदिन अपिल गरेको छ ।

शव ल्याउनका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १०८०१००००१८९५०१० मार्फत सहयोग संकलन जारी रहेको परिवारले जनाएको छ।