
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिम (र्याट) ले गरेको छड्के जाँचपछि नीलकण्ठ नगरपालिका–स्थित दुवाडी एग्रोभेटमा बिक्री भइरहेको भारतीय रासायनिक मलमाथि सरकारी अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा खरिद तथा बिक्रीसम्बन्धी बिल तत्काल प्रस्तुत गर्न नसकिएपछि सम्बन्धित मल शिल गर्दै अर्को निर्णय नभएसम्म बिक्री नगर्न निर्देशन दिइएको छ ।
रास्वपा धादिङका अनुसार दुवाडी एग्रोभेटमा भारतीय रासायनिक मल बिक्री भइरहेको सूचना प्राप्त भएपछि र्याटका सदस्य दुर्गा वस्तीलाई ग्राहकका रूपमा मल खरिद गर्न पठाइएको थियो । मल खरिद गरेपछि उनले खरिद बिल माग्दा एग्रोभेटले बिल उपलब्ध गराउन नमिल्ने जनाएको रास्वपाको दाबी छ ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिम (र्याट) का अध्यक्ष दीपक अधिकारी, र्याट सदस्य दुर्गा बस्ती, राम तामाङलगायतका नेता तथा कार्यकर्ता मलको बोरा लिएर भेट्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारीलाई भेटेर बजारमा बिक्री भइरहेको उक्त मलको तत्काल अनुगमन गर्न आग्रह गरेका थिए ।
उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली दुवाडी एग्रोभेटमा पुगेर अनुगमन गरेको थियो ।
एग्रोभेट सञ्चालक बोनाथ दुवाडीले भने १७० बोरा भारतीय रासायनिक मल आएको र किसानको अत्यधिक मागका कारण आफूले प्रतिवोरा दुई हजार ७५० रुपैयाँमा खरिद गरी दुई हजार ९०० रुपैयाँमा बिक्री गरेको बताएका छन् । उनले यो कुनै कम्पनी वा संस्थाबाट किनेको होईन थर्डपार्टीबाट आएको हुँदा खरिद तथा बिक्री नभएको स्पष्ट पारे ।
अनुगमन टोलीले खरिद तथा बिक्री नदेखाइएकाले सम्बन्धित मल शिल गर्दै अर्को निर्णय नभएसम्म बिक्री नगर्न निर्देशन दिएको जनाएको छ । अब थप छानबिनपछि आवश्यक निर्णय गरिने बताइएको छ ।
र्याट धादिङका अध्यक्ष दीपक अधिकारीले दुवाडी एग्रोभेट नीलकण्ठ नगरपालिका–७, १२ र १३ वडामा सरकारी अनुदानको रासायनिक मल वितरण गर्ने आधिकारिक डिलरसमेत रहेको उल्लेख गर्दै सरकारी मल अभाव भइरहेका बेला बिलबिनाको भारतीय मल बिक्री हुनु गम्भीर विषय भएको बताए ।
उनले किसानले सहज रूपमा सरकारी अनुदानको मल नपाइरहेको अवस्थामा बिलबिनाको मल बिक्री हुनु किसानको हितविपरीत भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
