नीलकण्ठ बालमन्दिरका सुन्दर गुरुङले ल्याए ३.९२ जिपिए, जिल्ला उत्कृष्ट भएको दाबी

Avatar photo
Dhadingpost
असार ५, २०८३

धादिङ । धादिङबेसीस्थित नमूना विद्यालय नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी सुन्दर गुरुङ ले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा ३.९२ जिपिए हासिल गरेका छन् । विद्यालयले यो नतिजा धादिङ जिल्लाकै उत्कृष्ट (जिल्ला टप) भएको दाबी गरेको छ ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद रिजाल का अनुसार यस वर्ष नीलकण्ठ बालमन्दिरबाट ५३४ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रधानाध्यापक रिजालले विद्यालयले विगतदेखि नै शैक्षिक उपलब्धिमा उत्कृष्टता कायम राख्दै आएको उल्लेख गर्दै पालिकास्तरीय कक्षा ८ को परीक्षामाध्यमिक शिक्षा परीक्षा (एसईई) मा समेत उल्लेखनीय नतिजा हासिल गरेको बताए । उनले कक्षा १२ को यसपटकको नतिजाले पनि विद्यालयको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको धारणा व्यक्त गरे ।

सुन्दर गुरुङले प्राप्त गरेको ३.९२ जिपिएले विद्यालयसँगै धादिङ जिल्लाकै शैक्षिक क्षेत्रमा उत्साह थपेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ६९।७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थीले परीक्षा दिएकामा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात् (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात् पूरक परीक्षा साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाईएको छ ।