
धादिङ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भएसँगै तीन पदमा उम्मेदवार निर्विरोध चयन भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार पदाधिकारीको तीन पद र सदस्यहरु निर्विरोध हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा आवश्यक भन्दा बढीको उम्मेदवारी परेको छ ।
महासचिवमा हरी गिरी, कोषाध्यक्षमा एलन तामाङ र सहकोषाध्यक्षमा रामचन्द्र उप्रेती एक्ला उम्मेदवारका रूपमा मैदानमा उत्रिएका कारण उनीहरू निर्विरोध चयन भएका हुन् । यद्यपि निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ ।
धादिङ नेपाली समाज अमेरिकाको वार्षिक साधारणसभा तथा अधिवेशनको औपचारिक उद्घाटन आगामी जुन १४ मा हुने तय गरिएको छ । त्यसपछि निर्वाचन समितिले प्रतिस्पर्धा रहेका पदहरूमा मतदानको मिति, समय र प्रक्रिया सार्वजनिक गर्ने जनाएको छ ।
हाल समाज टकबहादुर रुवाली को अध्यक्षतामा सञ्चालन भइरहेको छ । अमेरिकामा करिब तीन हजारको हाराहारीमा धादिङवासी बसोबास गर्ने अनुमान गरिए पनि समाजका ७४४ सदस्य यसपटकको निर्वाचनमा मतदान गर्न योग्य रहेका छन्।
नयाँ नेतृत्व चयनमार्फत अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था थप सशक्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
