
धादिङ । धादिङका १ हजार २५६ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागी हुने भएका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अनुसार एसइई २०८२ मा ननग्रेडेड भएका जिल्लाका १३४ वटा विद्यालयका १ हजार २५६ जना विद्यार्थीले आगामी असार १ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फाराम भरेका छन् ।
ग्रेडवृद्धि परीक्षाका लागि धादिङमा दुई वटा मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिको जेठ २ गते बसेको बैठकले धादिङ क्षेत्र नम्बर १ का परीक्षार्थीका लागि आदर्श माध्यमिक विद्यालय, गजुरी–१ र क्षेत्र नम्बर २ का परीक्षार्थीका लागि नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, नीलकण्ठ–३, धादिङबेसी लाई परीक्षा केन्द्र तोकेको हो ।
निर्धारित परीक्षा केन्द्रमध्ये आदर्श माध्यमिक विद्यालय गजुरीबाट ६२ वटा विद्यालयका ४९२ जना विद्यार्थीले परीक्षा दिनेछन् । यस्तै नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय धादिङबेसीबाट ७२ वटा विद्यालयका ७६४ जना विद्यार्थी सहभागी हुनेछन् ।
राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि सुरु हुने कार्यक्रम रहेको छ । परीक्षा सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ ।
