चिल्ड्रेन पार्कमा रङ, रेखा, सरसफाइ र हरियालीसँगै मनाइयो विश्व वातावरण दिवस

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०८३

धादिङ । वातावरण संरक्षण केवल पाठ्यपुस्तकको विषय होइन, व्यवहारमा उतार्नुपर्ने जिम्मेवारी हो भन्ने सन्देश दिँदै चिल्ड्रेन पार्कका विद्यार्थीहरूले विश्व वातावरण दिवसलाई सिर्जनात्मक, व्यावहारिक र प्रेरणादायी गतिविधिमार्फत मनाएका छन् ।

विद्यालय परिसर बिहीबार बिहानदेखि नै हरियाली, रङ र उत्साहले भरिएको देखिन्थ्यो । कसैले कागजमा हरियो भविष्य कोर्दै थिए भने कसैले हातमा झाडु समातेर वातावरण सफा बनाउने अभियानमा जुटेका थिए । विद्यार्थीहरू भने वृक्षारोपण र बिरुवा संरक्षणको अभ्यासमा व्यस्त थिए ।

शिक्षक नवीन श्रेष्ठका अनुसार वातावरण दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी विद्यार्थीको उमेर र क्षमताअनुसार विभिन्न गतिविधि सञ्चालन गरिएको थियो ।

साना कक्षाका विद्यार्थीहरूले वातावरणप्रति आफ्नो कल्पना र चेतनालाई रङमार्फत अभिव्यक्त गरेका थिए। कक्षा १ र २ का बालबालिकाले ‘इको कलरिङ’ प्रतियोगितामा सहभागिता जनाउँदै प्रकृतिप्रेमलाई चित्रमा उतारे। कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरूले वातावरण संरक्षणका विषयमा चित्रकला तथा पेन्टिङ प्रतियोगितामार्फत आफ्ना सिर्जनात्मक सोच प्रस्तुत गरे।

यसैबीच, कक्षा ६ र ७ का विद्यार्थीहरूले वातावरण संरक्षणको सन्देश व्यवहारमै देखाए । कक्षा ६ का विद्यार्थीहरूले शिक्षक दीपक रेग्मीको नेतृत्वमा विद्यालय परिसर सरसफाइ गरे भने कक्षा ७ का विद्यार्थीहरूले शिक्षक निर्मन सर र सुनिता कुइकेलको नेतृत्वमा सिम्ले गैरी क्षेत्रमा पुगेर सरसफाइ अभियान सञ्चालन गरेका थिए । उनीहरूले सडक किनार र सार्वजनिक स्थानमा फालिएका फोहोर संकलन गर्दै स्वच्छ वातावरण निर्माणमा योगदान दिएका थिए ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष वृक्षारोपण र बिरुवा संरक्षण प्रतियोगिता थियो । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले विद्यालय परिसर तथा निर्धारित क्षेत्रमा बिरुवा रोप्नुका साथै त्यसको नियमित हेरचाह र संरक्षणका उपायबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए । विद्यालयले बिरुवा रोपेर मात्र दायित्व पूरा नहुने, त्यसलाई हुर्काएर संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने सन्देश दिएको जनाएको छ ।

विद्यालयका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध, सामूहिक कार्यसंस्कृति र प्रकृतिप्रेमको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित यी कार्यक्रमहरूले वातावरण संरक्षणको सन्देश केवल भाषण र नारामा सीमित नरही विद्यार्थीहरूको व्यवहार र अभ्यासमा समेत प्रतिबिम्बित भएको देखिएको छ ।