
धादिङ । पूर्व नेकपा (माओवादी केन्द्र) र पूर्व नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कार्य संयोजन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टीको जिल्ला तथा स्थानीय तहसम्म पूर्ण समायोजन प्रक्रिया सम्पन्न नभइसकेको अवस्थामा संगठनात्मक गतिविधि सञ्चालन तथा समन्वयका लागि गठन गरिएको कार्य संयोजन समितिको बैठक धादिङबेसीमा बस्न लागेको नेकपा स्रोतले जनाएको छ ।
समितिमा पार्टीका जिल्ला इन्चार्ज गुरु बुर्लाकोटी र संयोजक मनराज भण्डारी रहेका छन् । समितिमा पूर्व माओवादी केन्द्र र पूर्व एकीकृत समाजवादीका गरी ५४ जना सदस्य समावेश रहेका छन् ।
बैठकमा पार्टी संगठन सुदृढीकरण, समायोजन प्रक्रियालाई तीव्रता दिने, स्थानीय तहसम्म संगठन विस्तार गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा नेकपाका केन्द्रीय तथा प्रदेश तहका नेताहरू राजेन्द्र पाण्डे, पुष्पविक्रम मल्ल, गंगालाल तुलाधर र शालिकराम जम्कट्टेल लगायतको आतिथ्यता रहने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
नेकपाले पार्टी एकीकरणपछि देशभर संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने अभियान सञ्चालन गरिरहेको छ भने धादिङमा पनि सोही अभियानअन्तर्गत कार्य संयोजन समितिको बैठकलाई महत्वका साथ हेरिएको छ ।
