
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले पालिका अधिवेशनलाई तीव्रता दिएको छ । जिल्लाका अधिकांश पालिकामा मतदान प्रक्रियामार्फत नेतृत्व चयन भइरहेको अवस्थामा नीलकण्ठ नगरपालिकामा भने सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ ।
आइतबार सम्पन्न रास्वपा नीलकण्ठ नगर समितिको अधिवेशनले रिठ्ठे अछामीलाई पुनः सभापतिमा चयन गर्दै नयाँ नगर समिति सर्वसम्मत रूपमा गठन गरेको हो । समितिको उपसभापतिमा महेन्द्र धमला चयन भएका छन् ।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नवगठित नगर समितिले आगामी दिनमा पार्टीको संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
रास्वपा धादिङले जिल्लाभर पालिका अधिवेशन सम्पन्न गर्ने क्रमलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। पालिका तहका अधिवेशन सम्पन्न भएसँगै पार्टीले आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।
जिल्ला अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयनसँगै संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने पार्टी स्रोतले जनाएको छ ।
