प्याब्सन धादिङद्वारा अंग्रेजी शिक्षकहरूको व्यावसायिक विकास कार्यशाला सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०८३

धादिङ । प्याब्सन धादिङको आयोजना तथा एलाईड पब्लिकेसनको विशेष सहयोगमा “अंग्रेजी शिक्षकहरूको व्यावसायिक विकास कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरिका अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यशालाको मुख्य उद्देश्य आधुनिक शिक्षण सीप, प्रभावकारी कक्षाकोठा व्यवस्थापन, नवीन शिक्षण रणनीति तथा अंग्रेजी भाषा शिक्षणलाई अझ प्रभावकारी बनाउने विषयमा शिक्षकहरूलाई व्यवहारिक तथा प्रेरणामूलक प्रशिक्षण प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख प्रशिक्षक चर्चित प्रशिक्षक तथा लेखक रोम्हर्ष पन्थीले सहभागी शिक्षकहरूलाई व्यवहारिक र प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले शिक्षकहरूको निरन्तर सिकाइ र व्यावसायिक विकासबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विनोदमान श्रेष्ठले शिक्षा राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै शिक्षक तालिम तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरू आजको आवश्यकता भएको बताउनुभयो ।

त्यसैगरी विनोदराज उपाध्यायले आधुनिक शिक्षण प्रणाली, प्रविधिमैत्री सिकाइ तथा शिक्षकहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति भीमबहादुर श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको निरन्तर तालिम र सिकाइ अपरिहार्य रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता व्यावसायिक विकास कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

कार्यशालामा सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको समापन गर्दै आयोजकले “निरन्तर सिकाइ गर्ने शिक्षकहरूले नै विद्यार्थीलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छन्” भन्ने सन्देशलाई आत्मसात गर्दै यस्ता कार्यक्रम आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ ।