
धादिङ । नीलकण्ठ नगरपालिका–८ स्थित विन्दुकेशरा साधना केन्द्रको प्रथम वार्षिक उत्सव आज भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । योग, ध्यान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्रले एक वर्षको सफल यात्रा पूरा गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा केन्द्रकी सदस्य कृपा कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने केन्द्रको एक वर्षे गतिविधि, उपलब्धि तथा आर्थिक अवस्थासहितको वार्षिक प्रतिवेदन सुशिला रिजालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमा केन्द्रले विगत एक वर्षमा योग, स्वास्थ्य सचेतना तथा सामाजिक सद्भाव प्रवर्द्धनका क्षेत्रमा खेलेको भूमिकाबारे उल्लेख गरिएको थियो ।
प्रतिवेदनअनुसार यस अवधिमा पतञ्जली योग समिति धादिङको नव-निर्वाचित कार्यसमितिको पहिलो बैठक विन्दुकेशरा साधना केन्द्रमै सम्पन्न भएको थियो । केन्द्रले विभिन्न चेतनामूलक तथा स्वास्थ्यसम्बन्धी ६ वटा विशेष कार्यक्रम आयोजना गरेको तथा नियमित योग अभ्यासबाट टोलबासीहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको जानकारी गराइएको थियो । हाल केन्द्रको कोषमा रु. ९ हजार बचत रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ ले विन्दुकेशरा साधना केन्द्रका साधकहरूको सक्रियता र अनुशासनको प्रशंसा गर्दै योगले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउने बताउनुभयो । उहाँले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन सके समाज स्वस्थ र सकारात्मक बन्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बद्री सुबेदी, राममायाँ बुढाथोकी, अम्बिका सुबेदी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
उत्सवमा सहभागी वक्ताहरूले योग र साधनाले व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानीय टोलबासी, योगसाधक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्त्यमा केन्द्रका पदाधिकारीहरूले आगामी दिनमा योग, स्वास्थ्य र सामाजिक चेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
