डोली चढाएर पूर्व प्रधानाध्यापकलाई भव्य विदाई

Avatar photo
Dhadingpost
जेष्ठ ८, २०८३

धादिङ । सिद्धलेक गाउँपालिका–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालय का पूर्व प्रधानाध्यापक राजन गिरीलाई डोली चढाएर घरसम्म पुर्‍याउँदै भव्य समारोहका बीच विदाई गरिएको छ ।

विद्यालयले शुक्रबार आयोजित विशेष कार्यक्रममा संघीय सांसद उर्मिला थपलिया लाई बधाई ज्ञापन, पूर्व प्रधानाध्यापक राजन गिरीलाई पञ्चेबाजा सहित डोली चढाएर विदाई तथा “सक्षम गृहिणी” हरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद थपलियाले जनपक्षीय नीतिगत सुधारका लागि आफूले संसदमा निरन्तर आवाज उठाइरहेको बताइन् । उनले विद्यालय सुधार योजनाअन्तर्गत महाकाली माविले टोल–टोलमा आमा समूह गठन गरी शैक्षिक तथा सामाजिक सचेतना अभिवृद्धिका लागि गरेको कार्यको प्रशंसा गर्दै खुशी व्यक्त गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।