धादिङका गोकर्ण लामिछाने क्यानडा–नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
बैशाख २१, २०८३

टोरण्टो । धादिङ जन्मभूमि भई क्यानडालाई कर्मभूमि बनाउँदै आएका गोकर्ण लामिछाने फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श (FCNCC) को अध्यक्षमा चयन भएका छन् ।

संस्थाको दोस्रो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि लामिछाने नेतृत्वको नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो । नेपालमा रहँदा सञ्चारकर्मीका रूपमा परिचित लामिछाने क्यानडामा युवा उद्यमीका रूपमा स्थापित हुँदै महत्वपूर्ण संस्थाको नेतृत्वमा पुगेका हुन् ।

एफसिएनसिसिको वार्षिक साधारणसभा जुम मिटिङमार्फत सम्पन्न भएको थियो । संस्थापक अध्यक्ष विजय पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानडामा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूलाई आफ्नो व्यापार–व्यवसाय सशक्त, प्रतिस्पर्धी र सफल बनाउन एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइँटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सुराना चयन भएका छन्। यस्तै, बोर्ड अफ डाइरेक्टरमा पूर्णिमा डागा, ईश्वरचन्द राजन, अर्चना प्रधान कार्की, केदार शिवाकोटी (अल्बर्टा) र विष्णु पौडेल (ब्रिटिस कोलम्बिया) चयन भएका छन् ।