
धादिङ । नेपाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) धादिङले ८२ वर्षीय अग्रज फोटोग्राफर महेन्द्र डल्लाकोटीलाई सम्मान गरेको छ । बेनीघाट रोराङ गाउँपालिका–१० निवासी डल्लाकोटीलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्मान गरिएको हो ।
विगत करिब ६ दशकदेखि फोटोग्राफीमा सक्रिय डल्लाकोटीले कार्यक्रममा आफूले प्रयोग गर्दै आएका दुईवटा पुराना क्यामेरा एनएफपीजे धादिङलाई हस्तान्तरण गर्दै आफ्नो लामो अनुभव सुनाएका थिए ।
एनएफपीजेका केन्द्रीय उपाध्यक्ष नारायण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्षहरू नवराज छत्कुली, राजाराम शर्मा लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

धादिङमा व्यवसायिक फोटोग्राफीको सुरुवात विसं २०३१ सालबाट भएको पाइए पनि डल्लाकोटीले भने २०२२ सालदेखि नै रुचिका रूपमा फोटो खिच्न थालेको बताए । उनले २०३६ सालदेखि व्यवसायिक रूपमा फोटोग्राफी सुरु गरेको स्मरण गर्दै सिराहामा नागरिकता शिविरका क्रममा दैनिक करिब ५ हजार जनासम्मको फोटो खिचेको अनुभव समेत सुनाए । हाल पनि उनका तीनवटा फोटो स्टुडियो सञ्चालनमा रहेका छन् ।
जिल्लामा फोटो पत्रकारिताको सुरुवात भने विसं २०५४ सालबाट भएको मानिन्छ । सो वर्ष कान्तिपुर दैनिकमा फोटो प्रकाशन गर्दै स्वर्गीय राजेन्द्र प्रताप शाह धादिङका पहिलो फोटो पत्रकार बनेका थिए । उनलाई एनएफपीजे धादिङले २०७५ सालमा सम्मान गरेको थियो ।
इतिहासमा झन् पछाडि फर्किँदा, धादिङको आँखुखोलामा निर्माण गरिएको पहिलो झोलुङ्गे पुलको तस्बिर विसं १९७९ सालमा दिर्घमान चित्रकारले खिचेको पाइन्छ । त्यसैगरी २०३४ सालमा गजुरीमा ग्रामीण विद्युत विस्तार कार्यक्रमका क्रममा खिचिएका तस्बिरहरू पनि जिल्लाका पुराना अभिलेखीय फोटाका रूपमा रहेका छन् ।
धादिङमा आधुनिक फोटोग्राफी तालिम भने पहिलो पटक २०६२ भदौ २० देखि २६ गतेसम्म आयोजना गरिएको थियो । धादिङ उद्योग वाणिज्य संघले कोनिका मिनोल्टा कम्पनीको सहयोगमा सञ्चालन गरेको उक्त तालिममा पत्रकारहरू समेत सहभागी थिए । यद्यपि, जिल्लामा फोटो पत्रकारिता संस्थागत रूपमा भने २०७४ साल जेठमा एनएफपीजे धादिङ गठन भएपछि थप सक्रिय बनेको हो । 📷 तस्वीर : अर्जुन श्रेष्ठ
