धादिङमा जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगितालाई एनआरएनए नेताको साथ

Avatar photo
Dhadingpost
चैत्र २७, २०८२

धादिङ । धादिङमा आयोजना हुन लागेको जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेताहरुले आर्थिक सहयोग गर्ने भएका छन् ।

धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कडेलका अनुसार आगामी बैशाख ४ गतेदेखि ९ गतेसम्म बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटारमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितालाई सफल बनाउन एनआरएनएका वरिष्ठ उपाध्यक्ष रविन सेरचन, उपाध्यक्ष मनोज गोर्खाली, प्रविण गुरुङ तथा एनआरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

हालै सम्पन्न एनआरएनएको महाधिवेशनबाट धादिङका मनोज गोर्खालीसहित लोकप्रसाद दाहाल, रामशरण सिंखडा, प्रसुन्ना कडेल, सुजन अधिकारी र कृष्णप्रसाद तिम्सिना विभिन्न पदमा निर्वाचित भएका छन् । उनीहरुलाई समेत प्रतियोगिताका लागि सहयोग गर्न आग्रह गरिएको अध्यक्ष कडेलले जानकारी दिए ।

त्यस्तै बेनीघाट रोराङ गाउँपालिका ले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ भने खेलकुद पत्रकार भुपेन्द्र जीसीले १० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । अष्ट्रेलियाबाट प्रतिमा पाण्डेले १० हजार, सुजाता इन्टरप्राईजेज मलेखुले नगद ५ हजार, Golden Oak Drinking Water र Xtreme Energy Drink ले पनि सहयोग गर्ने भएका छन् ।

प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट खेलाडीहरुले धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् । यसअघि धादिङ टोली प्रदेश स्तरमा उपविजेता बन्न सफल भएको थियो ।