
धादिङ । धादिङबेसीस्थित न्यु किबो बोर्डिङ स्कुलमा प्री–प्राइमरी दिक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
विद्यालयका प्रिन्सिपल तथा एन–प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको सभापतित्वमा आयोजित कार्यक्रममा प्री–प्राइमरी इन्चार्ज लक्ष्मी भट्ट छत्कुली प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो । त्यसैगरी विद्यालयका निर्देशक काशीनाथ कोइराला र संयोजक सीताराम महत विशेष अतिथिका रूपमा सहभागी रहेका थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०८२ अन्तर्गत नर्सरी, एलकेजी र यूकेजी कक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो । विशेष रूपमा यूकेजी पूरा गरेका ७४ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिए ।
दिक्षित नानीबाबुहरूले कार्यक्रममा मन्तव्य, नृत्य तथा कविता वाचन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए, जसले उपस्थित अभिभावक र अतिथिहरूलाई भावुक बनाएको थियो ।
कार्यक्रममा बोल्दै सभापति तथा प्रिन्सिपल प्रयास रेग्मीले विद्यालयले बालमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै अभिभावकको अपेक्षा अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गरेका थिए ।
