
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित श्री नृसिंह धाममा आगामी पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर विशेष धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा अवस्थित श्री नृसिंह धाम प्राचीन, ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल मानिन्छ । धार्मिक मान्यताअनुसार भगवान श्री नृसिंहदेव यही स्थानमा प्रकट भएको उल्लेख पाइन्छ ।
पौराणिक कालदेखि नै यो क्षेत्र भगवान नृसिंहदेवको क्रीडास्थलीका रूपमा मानिँदै आएको छ । यहाँ भएका उत्खननबाट प्राप्त पुरातात्त्विक अवशेषहरूले पनि यस धामको ऐतिहासिक महत्व झन् पुष्टि गरेको समितिले जनाएको छ । साथै, भक्त प्रह्लादको तपोभूमि तथा नेपालमा रहेका नृसिंह पीठमध्ये एक महत्वपूर्ण पीठका रूपमा समेत यसलाई धार्मिक विश्वासले स्वीकार गरेको छ ।
हरेक तीन वर्षमा पर्ने पुरुषोत्तम (अधिक) महिनामा भगवान श्री नृसिंहदेवको अवतार र विभिन्न धार्मिक परम्परासँग सम्बन्धित विशेष महोत्सव आयोजना गरिँदै आएको छ । यस वर्ष पनि डा. श्रीराम कृष्णदास आचार्यको सत्संकल्पमा देश–विदेशका तीर्थस्थलमा निरन्तर हवन तथा यज्ञ सञ्चालन र त्यसको पूर्णाहुति यही महोत्सवमार्फत गरिने तयारी गरिएको छ ।
महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यवसाय, होटल, यातायात, कृषि उत्पादन र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा देश–विदेशमा यसको प्रचार–प्रसार गर्न फागुन ३० गतेदेखि चैत २३ गतेसम्म २५ दिन देशव्यापी रथयात्रा सञ्चालन गरिने कार्यक्रम रहेको छ ।
