
काठमाडौं । धादिङ–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का घण्टीबहाक कार्यकर्ताहरूको काठमाडौंमा उत्साहजनक भेला सम्पन्न भएको छ ।
धादिङ–काठमाडौं सम्पर्क विभागको आयोजनामा काठमाडौंस्थित बीजी ब्याङ्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न “उम्मेदवारसँग जनसंवाद” कार्यक्रममा धादिङ–२ घर भई काठमाडौंमा बसोबास गर्दै आएका सयौँ कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा हल भरिभराउ उपस्थिति देखिनुका साथै धेरै सहभागी उभिएरसमेत कार्यक्रम सुनेका थिए, जसले चुनावी अभियानप्रति कार्यकर्ताको उत्साह र प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डीपी अर्याल ले धादिङ–२ को विकास र सुशासनका लागि नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताउँदै घण्टी चिन्हलाई विजयी बनाउन सबैलाई सक्रिय हुन आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य उम्मेदवार बोधनारायण श्रेष्ठ, निर्वाचन परिचालन समितिका संयोजक कृष्णमान शाक्य लगायतका नेताहरूले सम्बोधन गर्दै धादिङ–२ मा परिवर्तनको नेतृत्व गर्न रास्वपा सक्षम रहेको दाबी गरेका थिए ।
उम्मेदवार बोधनारायण श्रेष्ठले काठमाडौंमा रहेका धादिङवासीको साथ र समर्थनले चुनावी अभियानलाई थप ऊर्जा दिएको उल्लेख गर्दै घर-घरमा पुगेर फागुन २१ गते घण्टी चिन्हमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले आगामी निर्वाचनमा संगठित रूपमा परिचालन भई धादिङ–२ मा घण्टी बजाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


