
धादिङ । नेपाली कांग्रेस धादिङका क्षेत्रीय प्रतिनिधि तथा सलाङका सोम श्रेष्ठ आज धादिङ क्षेत्र नं. १ की घण्टी चुनाव चिह्नबाट उम्मेदवार आशिका तामाङकाे चुनावी कार्यक्रममा सहभागी भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
सलाङमा आयोजित कार्यक्रममा श्रेष्ठले उम्मेदवार आशिका तामाङकाे हातबाट टीका ग्रहण गर्दै औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् । उनी धादिङमा कांग्रेस कार्यकर्ताका रूपमा मात्र होइन, राष्ट्रिय स्तरका भलिबल रेफ्रीका रूपमा पनि परिचित व्यक्तित्व हुन् ।
रास्वपामा प्रवेशपछि प्रतिक्रिया दिँदै श्रेष्ठले आफूलाई फोनमार्फत विभिन्न किसिमका दबाब र धम्की आउन थालेको बताए । तर पनि सुझबुझका साथ परिवर्तन चाहने मतदाताहरूको हौसला बढाउन आफूले यो निर्णय गरेको स्पष्ट पारे । “परिवर्तन चाहनेलाई डर होइन, आत्मविश्वास चाहिन्छ,” उनले भने, “आएका धम्कीलाई म सहज रूपमा लिएको छु।”
रास्वपाकी उम्मेदवार आशिका तामाङ नलाङ–बुङ्चुङ हुँदै सलाङ पुगेको क्रममा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सोम श्रेष्ठसँगै अन्य केही स्थानीय व्यक्तिहरूले पनि रास्वपामा प्रवेश गरेका छन् ।
रास्वपाले धादिङ–१ मा परिवर्तनको एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाइरहेको बेला एकपछि अर्को प्रभावशाली व्यक्तिहरू पार्टीमा प्रवेश गर्न थालेपछि चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ ।
