
धादिङ । धादिङ महोत्सवको दोस्रो दिन अवलोकनकर्ताहरूको विशेष आकर्षण सल्यानटारको मास र भटमासतर्फ केन्द्रित भएको छ। गुणस्तरीय र स्वादिष्ट भएको कारण सल्यानटारको मासप्रति दर्शकको भीड लागेको देखिएको हो।
साना किसान कृषि सहकारी सल्यानटारका सञ्जु श्रेष्ठ आफैँ स्टलमा बसेर मास र भटमास बिक्रीमा सक्रिय देखिन्थे। “भटमास सकियो, भोलि फेरि सल्यानटारबाट मगाइएको छ, मास भने अझै उपलब्ध छ,” उनले बताए। सल्यानटारको मास पहिल्यैदेखि प्रसिद्ध रहेकाले महोत्सवमै पाइँदा दर्शकको चासो बढेको हो।
महोत्सवमा सल्यानटारको माससँगै मण्डली मौरी फार्मको शुद्ध मह, ज्वालामुखीको दुना–टपरी, स्थानीय रूपमा तयार गरिएका फलामका औजार, काठका ठेकी, मादल, गल्छीको खुवा, खरीको खरि, पिडालु तथा विभिन्न जडीबुटीहरू पनि बिक्री तथा प्रदर्शनीमा राखिएका छन्।
उद्घाटनका दिन खाली रहेका धेरैजसो स्टलहरू दोस्रो दिनदेखि सञ्चालनमा आएका छन्। गेटबाट प्रवेश गर्दा दायाँतर्फ र स्टेजको दायाँ साइडका केही स्टलहरू अझै खाली देखिए पनि ती सबै बुकिङ भइसकेको र छिट्टै भरिभराउ हुने धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले जानकारी दिए।
स्टेज कार्यक्रममा आज थानेश्वर गौतम, सागर बिसी, कमला घिमिरे, मधु रसाइली, हरि सुनार तथा स्थानीय स्टेप अफ डान्स एकेडेमीका कलाकारहरूले मनोरञ्जन प्रदान गरेका थिए। सार्वजनिक बिदा परेको दिन भएकाले महोत्सवमा सन्तोजनक उपस्थिति रहेको आयोजकले जनाएको छ।
