
धादिङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ‘घण्टी’ चुनाव चिन्हसहित उम्मेदवारी दिएका बोध नारायण श्रेष्ठ विकास, सुशासन र जिम्मेवार राजनीतिका अनुभवी अभियन्ता हुन्।
राष्ट्रिय तथा प्रदेशस्तरमा लामो समय काम गर्दै आएका श्रेष्ठले विकासलाई नारा मात्र नभई नीति, प्रणाली र नागरिकको सक्रिय सहभागिता सँग जोडेर अघि बढाउनुपर्ने स्पष्ट दृष्टिकोण राख्दै आएका छन्। उनको राजनीतिक यात्रा अनुभव, परिणाममुखी सोच र सामाजिक उत्तरदायित्वमा आधारित देखिन्छ।
अनुभव र दक्षताको बलियो आधार
श्रेष्ठले युनिसेफ नेपालमा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) अधिकृतका रूपमा कार्य गरेका छन्। सो अवधिमा उनले मधेश, वागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशमा प्रत्यक्ष रूपमा काम गर्दै विकासका विविध आयाम बुझ्ने अवसर पाएका छन्।
विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रहेको छ। सन् २०१४, २०१७, २०१९ र २०२४ मा नेपालमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प तथा कोभिड–१९ महामारीका समयमा उनी अग्रपंक्तिमा रहेर राहत, समन्वय र पुनःस्थापनाका कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
सामाजिक अभियानका अग्रणी अभियन्ता
श्रेष्ठ नेपालको खुला दिसामुक्त अभियान का सोचकर्ता तथा प्रमुख अभियन्तामध्ये एक हुन्। विकास प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यतासहित उनले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरेका छन्।
त्यसैगरी, राजमार्ग सुरक्षा तथा प्राथमिक उपचारसम्बन्धी अवधारणाको विकास र जनचेतनामूलक अभियान सञ्चालनमा समेत उनको सक्रिय भूमिका रहेको छ।
नीति, विधि र प्रणाली निर्माणमा दखल
संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग प्रत्यक्ष समन्वय र सहकार्य गर्दै आएका श्रेष्ठ संघीयता कार्यान्वयनका क्रममा ऐन तथा कानुन निर्माण प्रक्रियामा समेत संलग्न रहँदै आएका छन्। नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभवले उनलाई व्यवहारिक र समाधानमुखी नेताको रूपमा चिनाएको छ।
योग्यता, नेतृत्व र सामाजिक योगदान
श्रेष्ठ युनिसेफ नेपालका पूर्व WASH अधिकृत हुन् भने नेपाल रेडक्रस सोसाइटीमा पूर्व मन्त्री, उपसभापति तथा संगठन व्यवस्थापकका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
त्यस्तै, बुढीगण्डकी जलविद्युत् आयोजनामा सामाजिक पक्षका पूर्व सल्लाहकार, बुढीगण्डकी क्याम्पस (ज्वालामुखी, धादिङ) का संस्थापक अध्यक्ष तथा विभिन्न विद्यालयहरूमा शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गर्ने अभियन्ता पनि हुन्।
शैक्षिक रूपमा उनले ग्रामीण विकासमा स्नातकोत्तर तथा राजनीति शास्त्रमा स्नातक अध्ययन गरेका छन्।
अनुभव, दक्षता र परिणाममुखी सोचका कारण बोध नारायण श्रेष्ठलाई धादिङ–२ मा ‘घण्टी’ को प्रभावशाली र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिन थालेको छ।

