चुनावी प्रचारमा राष्ट्रिय झण्डाको प्रयोगमा कडाइ, आयोगद्वारा स्पष्ट निर्देशन

Avatar photo
Dhadingpost
माघ ११, २०८२

काठमाडौँ ।
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोगलाई सीमित र नियमनित बनाउन कडा निर्देशन जारी गरेको छ। राजनीतिक दल र उम्मेदवारहरूले अब जुलुस, आमसभा, घरदैलो अभियान, कोणसभा वा कुनै पनि प्रकारका र्‍यालीमा १० वटा भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

आयोगका अनुसार प्रचारप्रसारका अन्य सामग्री—जस्तै पोस्टर, ब्यानर, फ्लेक्स, सामाजिक सञ्जाल सामग्री वा प्रचार सामग्रीमा—राष्ट्रिय झण्डा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। तोकिएको सीमा नाघेर झण्डा प्रयोग गरेमा सो कार्य निर्वाचन आचारसंहिताको उल्लङ्घन ठहरिने र आवश्यक कानुनी कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।

हालै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो कार्यक्रम, मत माग्ने अभियान र सभाहरूमा राष्ट्रिय झण्डालाई व्यापक रूपमा प्रयोग गर्न थालेपछि यसबारे आयोगमा गुनासो बढेको थियो। कतिपय स्थानमा झण्डाको गरिमा र सम्मान विपरीत प्रयोग भएको भन्दै सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तबाट पनि आलोचना भइरहेको आयोगले जनाएको छ।

यस्ता गुनासो र विवादलाई मध्यनजर गर्दै आयोगले राष्ट्रिय झण्डाको मर्यादा जोगाउन कडा निर्देशन जारी गरेको हो। आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई निर्वाचन आचारसंहिताको पालना गर्न र राष्ट्रिय झण्डालाई तोकिएको मापदण्डभित्र मात्रै प्रयोग गर्न आग्रह गरेको छ।