
धादिङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कुल ४८ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । दुबै क्षेत्रमा २४–२४ जनाले प्रतिस्पर्धा गर्नेछन्।
क्षेत्र नम्बर २ मा बहुपक्षीय प्रतिस्पर्धा
धादिङ–२ मा प्रमुख दलहरूबाट नेकपा एमालेका धनबहादुर घले, नेपाली कांग्रेसका रमेश धमला, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर भण्डारी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बोध नारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्।
त्यस्तै, अन्य दलतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीका वीरबहादुर तामाङ, राप्रपाका सुरेश रिजाल, नेकपा (माओवादी) का कृष्णबहादुर घलानी, श्रम संस्कृति पार्टीका टासी लामा तामाङ, उज्यालो नेपाल पार्टीका अमिर तामाङ, संयुक्त नागरिक पार्टीका देवेन्द्र गैरे, नेशनल रिपब्लिक नेपालका नक्कले मगर (किशोर), आम जनता पार्टीका नन्दप्रसाद काप्री, जसपा नेपालका नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीकी प्रिया भट्ट, मंगोल नेशनल अर्गनाइजेशनका सन्तोषकुमार तामाङ र मितेरी नेपाल पार्टीका सुमन तामाङले उम्मेदवारी दिएका छन्।
स्वतन्त्रतर्फ शिवराज सापकोटा, शिवनिधि खनाल, रुद्रबहादुर गेलाङ मगर, भरत ढुंगाना, दिपक अधिकारी, दामोदर रिजाल, कृष्णप्रसाद कोइराला र उज्ज्वल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर १ मा पनि प्रतिस्पर्धा चर्कियो
धादिङ–१ मा नेकपा एमालेबाट भूमि प्रसाद त्रिपाठी, नेपाली कांग्रेसबाट कृष्ण रिजाल, नेकपाबाट राजेन्द्र प्रसाद पाण्डे तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिका तामाङ प्रमुख उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।
अन्य दलबाट उज्यालो नेपाल पार्टीका श्याम राजा पाण्डे, राप्रपाका गीता प्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीका प्रलाद सिलवाल, नेशनल अर्गनाइजेशन पार्टीका रिन्छेन तामाङ (सुमन), नेपाल मजदुर किसान पार्टीकी चन्द्रादेवी वासुकला, संयुक्त नागरिक पार्टीका डम्बरबहादुर लिम्बु, नेकपा (माओवादी) का कुमारबहादुर तामाङ तथा आम जनता पार्टीकी जाल्पा देवी रेग्मी उम्मेदवार बनेका छन्।
यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा हरि भण्डारी, राजेश भट्टराई, निरञ्जन संजेल, ध्रुव प्रसाद पाण्डे, धर्मराज नेपाल, दिपक तामाङ, तपन उप्रेती, ईश्वर भारती, अर्जुन प्रसाद अर्याल, कृष्ण प्रसाद अधिकारी र केशवराज रुपाखेतीले मनोनयन दर्ता गराएका छन्।
फागुन २१ मा मतदान
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै धादिङका दुवै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल तीव्र भएको छ। राजनीतिक दलहरू आफ्ना उम्मेदवारको पक्षमा प्रचार–प्रसार र जनसम्पर्कमा जुट्ने तयारीमा छन्।
धादिङमा यसपटकको निर्वाचन पुराना दल र नयाँ राजनीतिक शक्तिबीचको कडा प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

