
धादिङ । नेपाली कांग्रेस धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको हो।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको बैठकले निर्वाचन केन्द्रित रणनीति, संगठन परिचालन तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै उक्त समिति गठन गरेको हो।
बैठकमा प्रतिनिधि सभा तर्फका दुवै उम्मेदवार, समानुपातिक तर्फका तीन जना उम्मेदवार, जिल्लाका १३ वटै स्थानीय तहका पार्टी सभापति, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, बागमती प्रदेश कार्यसमिति सदस्य, पूर्व तथा वर्तमान केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको उपस्थिति रहेको थियो।
बैठकले निर्वाचनलाई लक्षित गर्दै मतदाता सम्पर्क अभियान तीव्र बनाउने, टोल–टोलमा संगठन विस्तार गर्ने र प्रचार व्यवस्थापनलाई एकीकृत रूपमा सञ्चालन गर्ने निर्णय गरेको कांग्रेस धादिङले जनाएको छ।
नेपाली कांग्रेस धादिङले गठन गरेको १,१११ सदस्यीय परिचालन समितिले जिल्लाभर पार्टीको चुनावी अभियान सञ्चालन गर्नेछ।

