
धादिङ । धादिङको केवलपुर, थाक्रे गाउँपालिका–१० स्थित हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लुगा वितरण गरिएको छ।
धादिङ समाज अमेरिकाको समन्वय तथा सहयोगमा आयोजित कार्यक्रममा १६६ जना विद्यार्थीहरूलाई जाडोका लुगा वितरण गरिएको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा धादिङ नेपाली समाज, अमेरिकाका बोर्ड सदस्य रबिन बिदारीले आफ्नो बाल्यकाल यही विद्यालय र परिवेशमा बिताएकाले यस स्थानसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए। उनले यस्ता सामाजिक कार्यले समुदायप्रति उत्तरदायित्वको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने धादिङ समाज अमेरिकका परिवारप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा र बालबालिकाको हितमा यस्ता कार्य निरन्तर गर्ने प्रतिबद्धता जनाइएको छ।

