
धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ४ स्थित हर्कपुर माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको अक्षयकोषका लागि गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले १ लाख रुपैयाँ व्यक्तिगत सहयोग प्रदान गरेका छन्।
पालिका अध्यक्ष विवेकले सहयोग गरेसँगै अक्षयकोषका लागि सहयोग आउने क्रम निरन्तर बढिरहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म अक्षयकोषका लागि करिब ८ लाख रुपैयाँ संकलन भइसकेको छ।
प्रधानाध्यापक श्रेष्ठका अनुसार विद्यालयले यही पुस २३ देखि २५ गतेसम्म विभिन्न कार्यक्रमसहित ५०औँ वार्षिक उत्सव मनाउन लागेको छ। उक्त अवसरमा विद्यालयको अक्षयकोष औपचारिक रूपमा सञ्चालन गरिने योजना रहेको उनले बताए।
विद्यालयको दीर्घकालीन शैक्षिक विकास, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषमा स्थानीय जनप्रतिनिधि, अभिभावक र शुभेच्छुकहरूको उल्लेखनीय सहयोग रहने अपेक्षा गरिएको छ।
