
धादिङ । ज्वालामुखी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारलाई प्राथमिकतामा राख्दै विद्यालय क्षेत्रभित्र ‘३ च’—चाउचाउ, चकलेट र चुइगम—निषेध गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार अस्वस्थकर खानेकुराको प्रयोग न्यूनीकरण गर्न उक्त निर्णय गरिएको हो ।
विद्यालय तहका बालबालिकामा जंकफुडको अत्यधिक प्रयोगका कारण देखिँदै आएका दन्त समस्या, पोषण असन्तुलन र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको स्वास्थ्य शाखाले जनाएको छ । श्रेष्ठका अनुसार विद्यालय परिसरमा पोषणयुक्त र स्वस्थ खानपानलाई प्रवर्द्धन गर्दै बालबालिकामा स्वास्थ्यप्रति सकारात्मक व्यवहार विकास गराउने उद्देश्यले ‘३ च’ निषेध गरिएको हो ।
यसैबीच, ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स हेल्दी भिलेज’ कार्यक्रमअन्तर्गत ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’को शुभारम्भ गरिएको छ । कार्यक्रममार्फत गाउँपालिकालाई पूर्ण रूपमा स्वस्थ पालिका बनाउने लक्ष्य लिइएको छ ।
कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा सरसफाइ जागरण, विद्यालय पोषण कार्यक्रम, दन्त स्वास्थ्य अभ्यास, हात धुने प्रणाली प्रवर्द्धन, मातृ–शिशु स्वास्थ्य सुदृढीकरण, नियमित स्वास्थ्य स्क्रिनिङ, स्वच्छ खानेपानीको व्यवस्था तथा फोहोर व्यवस्थापनलगायतका गतिविधिहरू सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
