
धादिङ। गजुरी–६, जरेबगैचामा रहेको भानुभक्त माध्यमिक विद्यालय स्थापना भएको ५० वर्ष पुगेको छ। विद्यालयले यो अवसरमा मंसिर २८ र २९ गते स्वर्ण जयन्ती महोत्सव मनाउने तयारी गरेको छ।
विद्यालयका प्रधानाध्यापक षडानन्द सुवेदीका अनुसार महोत्सवमा विद्यार्थी र शिक्षकले नृत्य, हाजिरी–जवाफ, खेलकुद जस्ता कार्यक्रम प्रस्तुत गर्नेछन्। साथै पूर्व शिक्षक, समितिका सदस्य, समाजसेवी र पूर्वविद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि हुनेछ।
महोत्सवमा स्मारिका प्रकाशन र अक्षय कोष स्थापना गरिँदैछ। सहयोगकर्ताका लागि विद्यालयले रकम अनुसार सम्मानको व्यवस्था गरेको छ—नाम वाचनदेखि प्रमाणपत्र, खादा र फ्रेमसम्म।
पूर्वप्रधानाध्यापक रञ्जन सुवेदीका अनुसार विद्यालयको सुरुवात २०२३ सालमा खोल्मे गोठ भत्काएर गरिएको थियो। आज यो विद्यालयमा आधुनिक भवन, पुस्तकालय, कम्प्युटर प्रयोगशाला र सेमिनार हल छन्। Room To Read, जाइका र Edutech Nepalको सहयोगले विद्यालय थप सुदृढ बनेको हो।
विद्यालय पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ। हराभरा वातावरण, पोखरे खोलाको सुसेली र हिमालको दृश्यले पढाइको माहोल सुगम बनाएको विद्यालयले बताएको छ।
यस विद्यालयबाट ३०० भन्दा धेरै विद्यार्थी SLC उत्तीर्ण भइसकेका छन्। गाउँमा बसोबास गर्ने ब्राह्मण, क्षेत्री, भुजेल, मगर, तामाङ, चेपाङ र दलित समुदायका विद्यार्थी यहाँ अध्ययन गर्छन्।
विद्यालयका अध्यक्ष तथा वडाध्यक्ष भक्तबहादुर (कर्ण) तामाङका अनुसार विद्यालयको लक्ष्य आगामी वर्षहरूमा प्राविधिक र व्यवहारिक शिक्षालाई अझ बलियो बनाउने रहेको छ। तस्वीरः गणेश पाण्डे
