
धादिङ । अपाङ्गता भएका नागरिकहरूको सहज गतिशीलता र आत्मनिर्भर जीवनका लागि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–स्थित सल्यानटारमा रिचार्जेबल ह्विलचियर वितरण कार्यक्रम हुने भएको छ । आधुनिक सुविधासहितको यो ह्विलचियर वितरण कार्यक्रम जिल्लामै पहिलो पटक सञ्चालन हुन लागेको हो ।
पूर्ण अपाङ्गता भई घरमै सीमित जीवन बिताइरहेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष एवं समाजसेवी टक बहादुर रुवालीको समन्वयमा रकम संकलन गरी ह्विलचियर वितरण गर्न लागिएको हो ।
रुवालीले अमेरिकाबाट दिएको जानकारीअनुसार, अमेरिका लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरूबाट संकलित सहयोगमार्फत आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आधुनिक रिचार्जेबल ह्विलचियर वितरण गरिनेछ । उनले भने, “यो ह्विलचियर एक पटक चार्ज गरेपछि १५ किलोमिटरसम्म सहजै चलाउन सकिन्छ, जसले प्रयोगकर्तालाई अरूको सहयोगबिना स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्षम बनाउँछ।”
गाउँपालिकाको आयोजनामा कार्तिक १३ गते सल्यानटारमा विशेष कार्यक्रमको आयोजना गरी ह्विलचियर वितरण गरिने भएको गाउँपालिकाले जनाएको छ ।
यसअघि पनि समाजसेवी रुवालीले न्यानो कपडा वितरण, क्यान्सर पीडितलाई आर्थिक सहयोग, र विपन्न बालबालिकालाई शैक्षिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुन लागेको यो कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, आत्मबल अभिवृद्धि र सामाजिक सहभागितामा टेवा पुग्ने विश्वास लिइएको छ ।
ह्विलचियर प्राप्त गर्नेको नामावली:
१. राम बहादुर पाण्डे (पहिले नै प्राप्त गरिसकिएको)
२. लुरे बिक
३. अम्बिका रिजाल
४. अञ्जन श्रेष्ठ
५. कुन्जेमाईला दर्जी
६. टिकानिधि बसौला
७. कुम्भ कुमारी गिरी
८. अमृता कुमाल
🔹 कार्यक्रम संयोजक: टक बहादुर रुवाली
🔹 आयोजक: त्रिपुरा सुन्दरी गाउँपालिका
🔹 सहयोगी संस्था: धादिङ नेपाली समाज अमेरिका
