त्रिपुरासुन्दरी मन्दिर, सल्यानकोट : घले राज्य र भण्डारीहरूको ऐतिहासिक सम्बन्ध

Avatar photo
Dhadingpost
अशोज २४, २०८२

नेपालको एकीकरण अभियानको प्रारम्भिक कालको साक्षी स्थलका रूपमा चिनिने सल्यानकोट आज पनि ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण रहँदै आएको छ।
यो पहाडी किल्ला एक समय घले राजाको शासनअन्तर्गतको सशक्त गढ थियो, जसको चारैतिर हिमाल, वनजंगल र नदीहरूले घेरेको भौगोलिक सुन्दरता छ। दक्षिणतर्फ बग्ने नेत्रावती, पश्चिममा बुढीगण्डकी, उत्तरमा कास्टे खोलाको बहाब, र पूर्वतर्फको हरियो डाँडाले यस क्षेत्रलाई स्वाभाविक सौन्दर्य प्रदान गर्छ।

सल्यानकोट र घले राज्यको गौरवमय इतिहास
इतिहासकारका अनुसार नेपाल एकीकरणअघि धादिङको सल्यानकोट घले राज्यको सशक्त केन्द्र थियो।
त्यो समयमा गोरखाका राजा राम शाह र उनका उत्तराधिकारीहरूले देशलाई एक सूत्रमा बाँध्ने अभियान अघि बढाइरहेका थिए।
गोरखाली फौजले घले राज्यमा आक्रमण गर्ने योजना बनाउँदा बर्खाको समय रोजियो — ताकि दुश्मनलाई आक्रमणको आभास नहोस्।

किम्बदन्ती अनुसार तान्त्रिक ज्योतिष दुर्लभ लामिछानेको सहयोगमा गोरखाली फौजले बुढीगण्डकी नदी पार गरेको भनाइ छ।
फौजले कास्टे खोलाको बेदघारी पार गर्दै देवीस्थान मन्दिर पुगेर पूजा गरी युद्धतर्फ अघि बढेको उल्लेख पाइन्छ।

घले राजाका सैनिकहरूले “बेदको टुप्पो ओइलाएको” देखेपछि गोरखाली फौज आइपुगेको अनुमान गरे र खबर राजासम्म पुर्याए।
तर गोरखाली आक्रमण अकस्मात् भएकोले घले राजा र मन्त्रीहरू तयार हुन नसके।

राजाको पलायन र राजमरे भीर
इतिहासका पानामा लेखिएको छ — गोरखाली फौजको आक्रमणको खबर पाएपछि घले राजा सुकौरा (सल्यानबेसी) बाट घोडामा चढी चरगें राज्यतर्फ पलायन हुन खोजे।
तर बर्खाको खराब मौसम र युद्धको अफरातफरीबीच बेलघारी जंगलको भीरमा घोडासहित लडेर राजाको मृत्यु भयो।
त्यो ठाउँ आजसम्म पनि “राजमरे भीर” नामले परिचित छ।
राजाको मृत्यु सुनेर मन्त्री बलबीर ले निष्ठाको प्रतीकस्वरूप बेत्रावतीमा डुबेर प्राण त्याग गरेको जनश्रुति पनि आजसम्म प्रचलित छ।

त्रिपुरासुन्दरी मन्दिर : आस्था र वर्षा माग्ने परम्परा
सल्यानकोटको उत्तरतर्फको कास्टे गाउँमा रहेको देवीस्थान (त्रिपुरासुन्दरी) मन्दिर स्थानीय बासिन्दाको प्रमुख धार्मिक स्थल हो।
यस मन्दिरलाई गोरखाको मनकामना र त्रिपुरासुन्दरी देवीको अभिन्न स्वरूप मानिन्छ।
स्थानीय विश्वास अनुसार खेतीपातीको समयमा खडेरी परेमा यहाँ पूजाआजा गरेर पानी माग्दा वर्षा हुने जनविश्वास आज पनि कायमै छ।

फुलपाती बढाइ र भण्डारी परम्परा
प्रत्येक वर्ष दशैंको फुलपातीको दिन, सल्यानबेसी मन्दिरबाट फुलपातीको डोली करीब दुई घण्टाको पैदल यात्रापछि त्रिपुरासुन्दरी मन्दिरमा भित्र्याइने परम्परा छ।
यस अवसरमा “फुलपाती हटिया डाँडो” मा भण्डारी परिवारले पूजाआजा र बोकाको बलि दिएर बढाइ गर्ने चलन रहिआएको छ।
त्यसपछि नगरकोटीहरूले पनि पूजाआजा सम्पन्न गरी फूलपाती मन्दिरमा प्रवेश गराइन्छ।

पहिले चिमचोक (लेक) बाट घले समुदाय बाजागाजा सहित आएर देवीलाई सगुनस्वरूप दही र फलफूल अर्पण गर्ने प्रथा थियो, जुन २००७ सालपछि बन्द भएको जनश्रुति छ।

गुठी, पूजा र परम्परागत भूमिका
फुलपाती बढाइमा लाग्ने खर्च व्यवस्थापनका लागि ठूलो पधेरा नजिक करिब ५–७ रोपनी गुठी जमिन रहेको छ, जसको आम्दानीबाट पूजाका खर्च चलाइन्थ्यो।
यो जमिन अम्मरध्वज भण्डारी वंशका सन्तानको नाममा रहेको मानिन्छ।
हाल गुठीको जमिन नापी–दर्ता भए पनि प्रयोगमा छैन।

चैते दशैं र बडादशैंका अवसरमा मन्दिरमा पञ्चवली लगाउने क्रममा भण्डारी, थापा, खड्का, मगर, राना समुदायहरूको रोलक्रम कायम रहने परम्परा आज पनि जीवित छ।
यसैगरी दशैंको टिकाको दिन भण्डारी समुदायले बिहान त्रिपुरासुन्दरी मन्दिरमा टिका लगाएर त्यसको अक्षता घरमा ल्याई साँझ टिका लगाउने चलन रहिआएको छ।

पुरोहित र मन्दिरको व्यवस्थापन
त्रिपुरासुन्दरी मन्दिरका मूल पुरोहित तिमल्सिना र सापकोटा वंशबाट हुँदै आएका छन्।
भण्डारी परिवारका पनि पुरोहित यही वंशका रहेकाले परम्परागत धार्मिक सम्बन्ध अझ प्रगाढ मानिन्छ।

भण्डारी पोखरी र ऐतिहासिक स्थलहरू
कास्टे खोलाको पुच्छर, बिर्ता र सिखटारबीचको क्षेत्र “भण्डारी पोखरी” ऐतिहासिक महत्त्व बोकेको स्थल हो।
यस स्थानको विस्तृत अनुसन्धान र संरक्षण कार्य गर्न आवश्यक देखिन्छ।

त्यस्तै, नेपाल एकीकरणकै क्रममा धादिङको ज्यमरूगं राज्यमा पारथ भण्डारीको नेतृत्वमा गोरखाली फौजले हमला गरेको उल्लेख ऐतिहासिक अभिलेखमा पाइन्छ, जसको अझै गहिरो अध्ययन हुन बाँकी छ।

निष्कर्ष
त्रिपुरासुन्दरी मन्दिर र सल्यानकोट केवल धार्मिक स्थल मात्र होइनन् —
यी ठाउँहरू घले, भण्डारी र अन्य समुदायको वीरता, आस्था र सांस्कृतिक पहिचानका साक्षी हुन्।
यी स्थलहरूले नेपालको एकीकरण, इतिहास र स्थानीय परम्पराको जडलाई जोड्ने सेतुका रूपमा योगदान दिँदै आएका छन्।

सन्दर्भ एवं मौखिक स्रोत
स्थानीय जनश्रुति – कास्टे, सल्यानकोट, धादिङ
ज्येष्ठ नागरिक लेखबहादुर सिटौलाको मौखिक अभिलेख
आधुनिक नेपालको इतिहास – गोरखाली अभियानका प्रसंगहरू
अम्मरध्वज प्रतिष्ठान, धादिङ — मौखिक ऐतिहासिक संग्रह (२०८१)
शिशिर शर्माद्वारा संकलित सल्यानकोट देवीको संक्षिप्त परिचय