
धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा स्थानीय तहहरूको शिक्षा योजना तर्जुमा तथा प्रतिवेदन तयारी सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
इकाइ प्रमुख सहसचिव भूमिलाल शर्मा सुवेदीको अध्यक्षतामा इकाइको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका विभिन्न स्थानीय तहका शिक्षा अधिकृतहरू तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय तहहरूले अनिवार्य रूपमा तयार गर्नुपर्ने शिक्षा योजना, आधारभूत तह परीक्षाको नतिजा विश्लेषण, आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक प्रगति प्रतिवेदन तयारी, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानका विषयमा विस्तृत छलफल गरिएको थियो ।
यसका साथै विषयगत विज्ञ शिक्षकहरूको रोष्टर सूची तयार गर्ने, जिल्लास्तरीय शैक्षिक बुलेटिन प्रकाशन गर्ने लगायतका विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान तथा सुझाव संकलन गरिएको थियो ।
कार्यक्रमले स्थानीय तहहरूलाई प्रभावकारी शैक्षिक योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
