२१औँ वर्षमा एड्भान्सः गुणस्तर, नवप्रयोग र विश्वासको यात्रा

Avatar photo
नारायण सिलवाल
बैशाख १७, २०८३

धादिङको शैक्षिक नक्सामा पछिल्लो दुई दशकमा निरन्तर छाप छोड्दै आएको नाम हो नीलकण्ठ ३ धादिङबेसीमा रहेको एड्भान्स एकेडेमी । २० वर्षको शैक्षिक यात्रा पार गर्दै २१औँ वर्षमा प्रवेश गर्नु केवल समयको हिसाब मात्र होइन, यो एउटा संस्थाले समाजमा बनाएको विश्वास, उत्पादन गरेको जनशक्ति र सिर्जना गरेको पहिचानको कथा पनि हो ।

एड्भान्स एकेडेमीको सुरुवातसँगै जोडिएका व्यक्तित्वहरू- अर्जुन गोर्खाली, गोविन्द बुढाथोकी, विष्णुप्रसाल कोइराला, भीम श्रेष्ठ– ले रोपेको बीउ आज बलियो वृक्षका रूपमा उभिएको देखिन्छ । उनीहरूको दूरदृष्टि र शैक्षिक प्रतिबद्धताले विद्यालयलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीको समग्र व्यक्तित्व विकासतर्फ डोर्यायो । त्यही मार्गमा शिक्षकहरू उत्तम भट्ट, विजय तामाङ, रामकुमार श्रेष्ठ, कृष्ण गुरुङजस्ता शिक्षाकर्मीले आफ्नो समय, श्रम र अनुभव खर्चिएर उत्कृष्ट नतिजा दिए । उनीहरूको योगदान केवल परीक्षाको नतिजामा मात्र सीमित भएन, बरु विद्यार्थीको सोच, व्यवहार र क्षमतामा दीर्घकालीन प्रभाव पार्ने खालको रह्यो ।

सामुदायिक र संस्थागत विद्यालयबीचको बहस नेपालमा सधैँ चलिरहने विषय हो । तर, ती बहसभन्दा अलग बसेर हेर्दा एड्भान्सले आफूलाई एउटा प्रयोगशाला जस्तै बनाएको देखिन्छ, जहाँ नयाँ अभ्यासहरू सुरु हुन्छन् र विस्तारै समाजले त्यसलाई अपनाउन थाल्छ । उदाहरणका लागि, छात्रा भलिबलको सुरुवात- आज जुन गतिविधि जिल्लाका धेरै विद्यालय हुँदै राष्ट्रिय स्तरसम्म पुगेको छ- त्यसको जरा यहीँ भेटिन्छ ।

त्यस्तै, तेक्वान्दोलाई पाठ्यक्रममै समावेश गरेर पठन–पाठन गराउने साहसिक निर्णय पनि एड्भान्सले नै पहिलोपटक लिएको हो । खेलकुदलाई केवल अतिरिक्त गतिविधि होइन, शिक्षाको अभिन्न अंगका रूपमा हेर्ने सोचले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गराएको छ ।

विद्यालयको अर्को महत्वपूर्ण पक्ष भनेको संस्कृतिप्रतिको सम्मान हो । जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका लोकनृत्य प्रतियोगितामा सफलता हासिल गर्नु केवल पुरस्कार जित्नु मात्र होइन, आफ्नै मौलिकता जोगाउने अभियान पनि हो । आज देश–विदेशमा फैलिएका पूर्व विद्यार्थीहरूले २१औँ वार्षिकोत्सवको अवसरमा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका शुभकामनाहरूले एउटा कुरा स्पष्ट पार्छ- एड्भान्सले विद्यार्थीलाई केवल पढाएर विदा गरेको छैन, उनीहरूलाई जीवनभर सम्झनलायक बनाएको छ ।

एक अभिभावकको दृष्टिकोणबाट हेर्दा, एड्भान्स केवल विद्यालय होइन, एउटा सिकाइको वातावरण हो । पाठ्यपुस्तकसँगै बाह्य ज्ञान, व्यवहारिक शिक्षा र विद्यार्थीको व्यक्तिगत क्षमताअनुसार सिकाइ दिने अभ्यासले अभिभावकहरूलाई आकर्षित गरेको छ । यही विश्वासका कारण मैले पनि आफ्नी छोरीलाई यसै विद्यालयमा आवद्ध गराएँ ।

पत्रकारिताको अभ्यासका क्रममा मैले धादिङपोष्टमा एड्भान्ससँग सम्बन्धित ३८१ वटा समाचार लेख्ने अवसर पाएँ । ती समाचारहरू केवल गतिविधिको विवरण मात्र थिएनन्, बरु एउटा संस्थाको निरन्तर विकास र प्रयोगशीलताको दस्तावेज पनि हुन् ।

काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर भएपछि सुरु गरिएको “बुक–फ्री फ्राइडे” जस्तो अवधारणा धादिङमा पहिलोपटक लागू गर्ने विद्यालय पनि एड्भान्स नै बन्यो। यसले देखाउँछ- एड्भान्स केवल अनुयायी होइन, नयाँ अभ्यासको अगुवा बन्ने क्षमता राख्छ ।

२०७० सालतिर चिनियाँ भाषा शिक्षण सुरु गर्नु पनि त्यस्तै दूरदृष्टिको उदाहरण हो । विद्यालय छोड्दा चिनियाँ प्रशिक्षार्थी शिक्षक भावुक भएर रोएको घटना केवल भावनात्मक प्रसंग मात्र होइन, एड्भान्सले निर्माण गरेको आत्मीय वातावरणको प्रमाण पनि हो ।

संस्थागत रूपमा प्राप्त उपलब्धिहरूमध्ये तत्कालीन प्रिन्सिपल गोविन्द बुढाथोकीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १४औँ केन्द्रीय महाधिवेशनमा प्राप्त गरेको “प्रेसिडेन्ट अवार्ड” उल्लेखनीय छ। यसले विद्यालयको नेतृत्व तहले राष्ट्रिय स्तरमै कस्तो प्रभाव पारेको छ भन्ने देखाउँछ ।

एड्भान्सका उत्पादनहरू पनि उत्तिकै उल्लेखनीय छन् । “द पोएट आइडल” मा चर्चा बटुलेकी डा. मुस्कान पोखरेलजस्ता व्यक्तित्वहरू यसै विद्यालयका पूर्व विद्यार्थी हुन् । यस्ता उदाहरणहरूले विद्यालयको प्रभाव कक्षाकोठाभन्दा धेरै टाढासम्म पुगेको प्रमाणित गर्छन् ।

निस्सन्देह, कुनै पनि संस्था पूर्ण हुँदैन । एड्भान्समा पनि सुधार गर्नुपर्ने पक्षहरू हुन सक्छन् । तर, एउटा संस्थालाई मूल्याङ्कन गर्दा त्यसले समाजमा पुर्याएको समग्र योगदान, निर्माण गरेको अवसर र दिएको दिशा महत्वपूर्ण हुन्छ ।

आज २१औँ वर्षमा पाइला राख्दै गर्दा एड्भान्स एकेडेमी केवल एउटा विद्यालय होइन, धादिङको शैक्षिक यात्राको एउटा महत्वपूर्ण अध्याय बनेको छ। आगामी दिनहरूमा पनि यही गति, नवीनता र समर्पण कायम रहोस्-यही अपेक्षा ।

तस्वीरमा एड्भान्स