
धादिङ । रोटरी क्लब अफ धादिङले समाजसेवाको भावनालाई आत्मसात गर्दै आमाको मायाको छात्रावासलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । क्लबका पूर्व अध्यक्ष तथा समाजसेवी रोटरियन नवीनकुमार श्रेष्ठको जन्मोत्सवको अवसर पारेर उक्त सहयोग हस्तान्तरण गरिएको हो।
कार्यक्रमअन्तर्गत छात्रावासमा आश्रित बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराइएको रोटरी क्लबले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी क्लबका पदाधिकारीहरूले रोटरी क्लब अफ धादिङले शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताएका थिए ।
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आउनुभएका रोटरियन नवीनकुमार श्रेष्ठले व्यक्तिगत उत्सवलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ यस वर्ष पनि छात्रावासका बालबालिकाहरूका लागि सहयोग गरिएको बताउनुभयो ।
उहाँले समाजका असहाय, विपन्न तथा आवश्यकता भएका व्यक्तिहरूको सहयोगका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“सामाजिक सेवाले मात्र जीवनलाई सार्थक बनाउँछ,” श्रेष्ठले भन्नुभयो, “जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई समाजसँग बाँड्न सके त्यसले वास्तविक सन्तुष्टि दिन्छ ।”
रोटरी क्लब अफ धादिङले समुदायको हितलाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जन्मोत्सवको अवसरमा गरिएको यस सहयोगले छात्रावासका बालबालिकाहरूलाई प्रत्यक्ष राहत पुग्नुका साथै समाजमा सेवा, सद्भाव र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह गरेको छ ।
स्थानीयवासी तथा सरोकारवालाहरूले रोटरी क्लब अफ धादिङ र रोटरियन नवीनकुमार श्रेष्ठको यस कार्यको प्रशंसा गर्दै यस्ता सेवामूलक गतिविधिले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
