
धादिङ । नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा गङ्गाजमुना गाउँपालिका–४, सालदुममा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा मङ्गलादेवी माध्यमिक विद्यालय र तामाङखर्क माध्यमिक विद्यालयका करिब ३५० जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक तथा अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा केही विद्यार्थीहरूको स्वास्थ्य अवस्था सामान्य प्राथमिक उपचारबाट मात्र समाधान हुन नसक्ने र विशेषज्ञ तथा केन्द्रस्तरीय उपचार आवश्यक पर्ने खालको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । यस्ता विद्यार्थीहरूलाई थप उपचारका लागि आवश्यक परामर्श र सुझाव प्रदान गरिएको थियो ।
शिविरमा डा. किशन अधिकारी, डा. विपिन बस्याल तथा नर्स अस्मिता पाण्डेसहितको स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरेको थियो ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर नागार्जुन सिकाइ केन्द्रका अध्यक्ष सिर्जन सिम्खडाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको थियो ।
स्थानीय समुदायले यस्ता स्वास्थ्य शिविरले विद्यार्थी तथा अभिभावकहरूलाई प्रत्यक्ष लाभ पुगेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
