
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत हेटौंडामा स्थगित भएको निर्वाचन प्रक्रिया अब काठमाडौंमा सम्पन्न हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै बाँकी निर्वाचन तथा मतदान प्रक्रिया २०८३ जेठ ३० गते काठमाडौंको स्मार्ट दरबार, शंखपार्क, चामतीमा सञ्चालन गरिने जनाएको छ ।
सूचना अनुसार मतदान प्रक्रिया पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (EVM) मार्फत सञ्चालन हुनेछ । यसअघि प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचनका लागि आवश्यक प्राविधिक तयारी पूरा भइसकेको आयोगले जनाएको छ ।
बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा धादिङबाट सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभापति पदमा धादिङका कृष्णमान श्रेष्ठ उम्मेदवार बनेका छन् । सभापति पदका लागि रामेछापका हरिबहादुर श्रेष्ठ, काठमाडौंका डा. अच्युत लामिछाने तथा मकवानपुरका उत्सव अर्याल र बन्दनकुमार भण्डारी पनि प्रतिस्पर्धामा छन् ।
त्यसैगरी प्रदेश सदस्य पदका लागि धादिङका डा. कृष्णमान शाक्य, विकास चेपाङ, कपिल आर्याल, सागर गौली, ध्रुवकुमार रेग्मी र सचिन अधिकारी ले उम्मेदवारी दिएका छन् ।
रास्वपाको बागमती प्रदेश अधिवेशनलाई पार्टीको प्रदेश नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ । निर्वाचन मिति तय भएसँगै उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् भने प्रदेशभरका प्रतिनिधिहरूको ध्यान नेतृत्व चयनतर्फ केन्द्रित भएको छ ।
निर्वाचन आयोगले मतदानमा सहभागी हुने प्रतिनिधिहरूलाई आधिकारिक परिचयपत्र साथमा ल्याउन तथा तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित भई मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।
