धादिङमा कांग्रेसका १० हजारभन्दा बढी क्रियाशील सदस्य अद्यावधिक, २७ सयभन्दा बढी नयाँ सदस्यको आवेदन

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०८३

धादिङ । नेपाली कांग्रेसको जारी सदस्यता नवीकरण तथा अद्यावधिक अभियान अन्तर्गत धादिङ जिल्लामा निर्धारित समयभित्र १० हजार ३१ जना क्रियाशील सदस्यको विवरण अद्यावधिक भएको छ । साथै जिल्लाभरबाट २ हजार ७२८ जनाले नयाँ सदस्यताका लागि आवेदन दिएका छन् ।

जिल्लाका १३ वटै स्थानीय तहबाट प्राप्त विवरण अनुसार सबैभन्दा धेरै क्रियाशील सदस्य नीलकण्ठ नगरपालिकामा २ हजार ८९४ जना रहेका छन् । त्यस्तै ज्वालामुखी गाउँपालिकामा १ हजार ३९८ जनात्रिपुरासुन्दरी गाउँपालिकामा ९९२ जना सदस्यको विवरण अद्यावधिक भएको छ ।

अद्यावधिक भएका सदस्य संख्या अनुसार स्थानीय तहगत विवरण यस प्रकार रहेको छः

  • खनियावास गाउँपालिका – ४२१ जना
  • रूवीभ्याली गाउँपालिका – २४८ जना
  • गंगाजमुना गाउँपालिका – ४६६ जना
  • त्रिपुरासुन्दरी गाउँपालिका – ९९२ जना
  • ज्वालामुखी गाउँपालिका – १,३९८ जना
  • नेत्रावती डबजोङ गाउँपालिका – ५२६ जना
  • नीलकण्ठ नगरपालिका – २,८९४ जना
  • सिद्धलेक गाउँपालिका – ७०१ जना
  • बेनिघाट रोराङ गाउँपालिका – ४१४ जना
  • गजुरी गाउँपालिका – ४७७ जना
  • गल्छी गाउँपालिका – ४६९ जना
  • थाक्रे गाउँपालिका – ४०१ जना
  • धुनीबेसी नगरपालिका – ६२४ जना

जम्मा अद्यावधिक भएका सदस्य संख्या १० हजार ३१ जना पुगेको छ ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यालयले देशभरको सदस्यता अद्यावधिक सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै ५ लाख ३८ हजार ६२२ जनाले सदस्यता अद्यावधिक गरेको जनाएको छ । कांग्रेसद्वारा बिहीबार राति जारी विज्ञप्तिअनुसार १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी वडा सभापतिमार्फत प्रक्रिया अगाडि बढाएका छन् ।

कांग्रेसले जारी गरेको सदस्यता अद्यावधिक अभियानलाई आगामी संगठन सुदृढीकरण, महाधिवेशन तयारी तथा पार्टीको आधार विस्तारसँग जोडेर हेरिएको छ । धादिङमा पनि अद्यावधिक सदस्य संख्या उल्लेख्य देखिएकाले जिल्लामा कांग्रेसको संगठनात्मक आधार बलियो रहेको संकेत मिलेको स्थानीय नेताहरू बताउँछन् ।